कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमी नगरपालिका २ गोरुसिङ्गे जंगलस्थित सडकमा सोमबार दिउँसो एम्बुलेन्स र विङ्गर एकआपसमा ठोक्किँदा एक वृद्धाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।
लु २ च ९२३७ नम्बरको एम्बुलेन्स र लु १ ज ४२८० नम्बरको विङ्गरबीच ठक्कर खाँदा अर्घाखाँचीको भुमिकास्थान नगरपालिका १० निवासी ९५ वर्षीया इन्द्रकला रानाको ज्यान गएको हो ।
गम्भीर घाइते भएकी उनलाई युनाइटेड अस्पताल ठाकुरापुरमा लगिएको थियो, जहाँ उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा एम्बुलेन्समा सवार अन्य दुई जना घाइते भएका छन्, जसको उपचार युनाइटेड अस्पताल ठाकुरापुरमा भइरहेको छ ।
विङ्गरमा सवारमध्ये ५ जनाको उपचार सामुदायिक अस्पतालमा, ५ जनाको सिएमसी अस्पताल चार नम्बर कपिलवस्तुमा र ४ जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भइरहेको छ । एम्बुलेन्स चालकको समेत लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।
दुर्घटनाको कारण बारे प्रहरी अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । घटनाले स्थानीय क्षेत्रमा शोक र चिन्ता थपेको छ ।




