रूपन्देही । रूपन्देहीको गैडहवा गाउँपालिका ६ गुलरियास्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । मंगलपुरबाट कलोनितर्फ जाँदै गरेको लु ७४ प ४६२१ नम्बरको मोटरसाइकल सोमबार दिउँसो अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका गैडहवा गाउँपालिका ५ गिदहियाका २१ वर्षीय करण कोहारको उपचारका क्रममा सिटी अस्पताल भैरहवामा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार अर्का एक जना घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।




