रूपन्देही । बुटवल उपमहानगरपालिका १२ नयाँगाउँस्थित सडकमा शनिबार राति भएको सवारी दुर्घटनामा ३ वर्षीय बालक बिण्णु अधिकारीको मृत्यु भएको छ ।
गुल्मीको रेसुङ्गा नगरपालिका ४ इस्मा घर भई बुटवलमा डेरा गरी बस्दै आएका देवकला अधिकारीका छोरा बिण्णुलाई लु ६२ प ८७४६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका बालकलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो । तर उपचारका क्रममा आइतबार बिहान उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।
दुर्घटनामा बिण्णुकी आमा देवकला अधिकारीसमेत घाइते भएकी छन् । उनको लुम्बिनी प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ । साथै दुर्घटनामा अर्का एक जना पैदलयात्री पनि घाइते भएका छन्, जसको उपचार एडमसिटी अस्पताल बुटवलमा भइरहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ र घटना बारे थप अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीले सडक प्रयोगमा सबैलाई सतर्क रहन र ट्राफिक नियमको पालना गर्न आग्रह गरेको छ ।




