बुटवल । बुटवल-नारायणगढ सडकखण्ड अन्तर्गत नवलपरासी (पश्चिम) को बर्दघाटमा यात्रुबाहक बस दुर्घटनामा पर्दा एक जनाको मृत्यु भएको छ भने १३ जना यात्रु घाइते भएका छन् । लु २ ख ६५७ नम्बरको बस बुटवलबाट नारायणगढतर्फ जाँदै गर्दा बर्दघाट नगरपालिका ५ स्थित शान्तिनगर चोकमा अनियन्त्रित भई पल्टिएको हो ।
दुर्घटनामा परी एक पुरुषको ज्यान गएको र उनकी सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरदत्त पन्तले जानकारी दिए ।
घाइतेमध्ये १२ जनालाई उद्धार गरी थप उपचारका लागि रुपन्देही पठाइएको छ भने एक जनाको चिसापानी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटनाको कारण बारे थप अनुसन्धान गरिरहेको छ ।






