“ए सपना, दर खान जाँदैनस् ?” बाटाबाट चर्को आवाज सुनियो ।
“जान्छु नि, म निस्कन्छु,” सपनाले उत्तर फर्काइन् ।
सासू भने केही नबोली पिँढीमा चुपचाप बसिरहेकी थिइन् । त्यत्तिकैमा पल्लाघरे माहिली आमा आइपुगिन् ।
“के गरेकी छेस् ? तिम्री बुहारी त दर खान जान्दिन रे, हाम्री त पहिल्यै गइ सकी,” माहिली आमाले साउती मारिन् ।
“के कुरा गर्छेस् तिमी पनि ! यो नेताजस्तै भएको छ, नगएर छाड्छे र ? को–को जान्छ, के–के खान्छ भनेर बिहानैदेखि फोनमै व्यस्त छे,” पहिलो आमाले उत्तर दिइन् ।
त्यसै बेलामा सपना चिटिक्क परेर भनिन्,
“ल, म गएँ है आमा ।”
पहिलो आमाले मुख बांगो पार्दै भनिन्,
“राम! राम!! हाम्रा पालामा दर भन्ने एक दिन खाने चाड हुन्थ्यो । त्यै पनि उकालो–ओरालो, खोलो तरेर बल्लतल्ल माइती पुगेर खाइन्थ्यो । अहिलेको त हेर त, एक महिनाअघि देखिनै दर खान थाल्छन्, त्यो पनि होटल–रेस्टुरेन्टमा । हेर्दा–हेर्दै के–के चलन आएका हुन् !”
त्यहीँ त हो, माहिली आमाले थपिन्,
“भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने तीज पर्व हो । पार्वतीले आफूले मन पराएको वर भगवान् शिवलाई पाउन जंगलमा गई घोर तपस्या गरेकी थिइन् । पानीको थोपा पनि नखाई बसेकी पार्वतीको तपस्या देखेर शिव प्रकट भए र ‘तिम्रो मनोकाङ्क्षा पूरा होस्’ भनी वरदान दिएका थिए ।”
“हो नि,” पहिलो आमाले सास फेर्दै भनिन्,
“तीज त हर्षोल्लासका साथ नाचगान गरी मनाउने चाड हो । तर अहिले त फेसन मात्रै भएको छ । कतै संघसंस्थाको नाममा, कतै पार्टीको नाममा, कतै समूहको नाममा सबैलाई देखाउने प्रतियोगिता झैँ भइसकेको छ ।”
माहिली आमाले गम्भीर मुद्रामा भनिन्,
“पौराणिक मान्यता बोकेको परम्परा र संस्कृति पनि देखासिकी र फेसनकै भीडमा विकृत हुँदै गएको छ, र हामीले थाहा पनि पाएका छैनौँ ।”






