ऋषिपञ्चमीको अवसरमा नजिकैका जलाशयमा स्नान गर्न जानेहरूको भीड देखिएको छ । बिहान सबेरै दतिवन लिएर महिलाहरूको लस्करमा गैंडाकोट ४ की एक बुहारी पनि सहभागी भइन् । तर घर फर्किएलगत्तै उनी र सासुबीच धार्मिक परम्परा र विश्वासबारे वादविवाद चर्कियो ।
सासुले आरोप लगाइन्, “सबै नुहाएर पवित्र भएर फर्किसके, तँ जाने जाने होइनस् । विवाहित वा अविवाहित स्त्रीले रजस्वला हुँदा छोइछाई भएमा ऋषिपञ्चमीमा सप्तऋषिको पूजा गरेर मात्र पाप नाश हुन्छ ।”
तर बुहारीले सहजै प्रतिवाद गरिन् । उनका अनुसार धार्मिक ग्रन्थमा न त माता सीताको वनवासकालीन जीवनमा यस्तो व्रतको उल्लेख छ, न त द्रौपदीले पञ्चमी गरी पाप पखालेको कथा भेटिन्छ ।
उनले भनिन्, “यदि रजस्वला भएकी स्त्रीले छोएको पाप हुने भए, सम्पूर्ण मानव जातिको अस्तित्व नै पापमय हुने थियो । त्यहीँ रज रोकिन जाँदा भ्रूण गर्भमा विकास हुन्छ । आखिर त्यहीँ रजबाट जन्मिएको शिशु कसरी पवित्र हुन्छ त ?”
तर सासुले अझै पुरानो चलनलाई तर्कको आधार बनाउँदै भनिन्, “आफ्ना बाउबाजेले जे बानी बसाए त्यहीँ गर्ने हो । परम्परा त्याग्नु हुँदैन ।” अन्त्यमा बुहारीले भनेकी थिइन्, “रज त सौभाग्य हो, जसले सृष्टि चलेको छ । यसलाई अपवित्र ठान्नु अन्याय हो ।”






