काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भैरहवा, रुपन्देहीका नापी अधिकृत सुग्रीव यादवविरुद्ध पाँच करोड ७९ लाख रुपैयाँभन्दा बढीको गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
आयोगका अनुसार यादवले २०५३ सालदेखि २०८१ साल असार १६ गतेसम्म सार्वजनिक पदमा रहँदा वैध आयका स्रोतहरूबाट जम्मा करिब नौ करोड रुपैयाँ मात्र आर्जन गरेका देखिन्छन् ।
तर सोही अवधिमा करिब १४ करोड ८३ लाख रुपैयाँ बराबरको खर्च र लगानी गरेको प्रमाणित भएको छ । सोही आधारमा उनले पाँच करोड ७९ लाख ६२ हजार रुपैयाँभन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरेको ठहर गरिएको हो ।
यादवमाथि दशकौँसम्म राजनीतिक पहुँच र विभागीय चलखेलमार्फत ‘निमित्त प्रमुख नापी अधिकृत’को जिम्मेवारी सम्हाल्दै सार्वजनिक जग्गा व्यक्तिको नाममा पार्ने, प्लट मिलान गर्ने नाममा करोडौं रुपैयाँको आर्थिक चलखेल गर्ने जस्ता गम्भीर आरोपसमेत रहेका छन् ।
आयोगले यादवको गैरकानूनी सम्पत्ति उनकी श्रीमती गायत्री यादव, छोराहरु सुधान्सु यादव र शुभम यादवका नाममा समेत खरिद भएको ठहर गरी उनीहरूलाई समेत प्रतिवादी बनाएको छ । सो सम्पत्ति जफत गरी बिगो असुल उपर गर्न मागदाबीसहित आयोगले आरोपपत्र दायर गरेको जनाएको छ ।






