कानमा तेल हाली बसेको देखेर सुरेश आत्तियो । “अस्तिको बैठकमा निर्णय भएका कुरा कार्यान्वयनमा आएका छैनन् । फेरी बैठक बस्ने बेला भयो । खोई, कस्ले गर्ने हो ?” उसले गुनासो पोख्यो ।
मदनले भने, “एकले अर्काको मुख ताक्दै ठिक्क छ । अघि सर्ने कोही छैन । अख्तियारी दिइयो, तर पनि भएन । खाली बैठकमा कोरम पुर्याउने काम मात्रै हुन्छ ।” उसले यथार्थता व्यक्त गर्यो ।
समितिमा भएकाले सुरेशले सङ्केत गर्दै भन्यो, “साथीहरूको विचार मिल्दैन । एउटाको प्रस्तावलाई अर्कोले खण्डन गर्छ ।” उसले निराशा व्यक्त गर्यो ।
मदनले यथास्थिति बताउँदै भने, “समस्या नै भएको छ । निर्णय राम्रो हो भन्ने थाहा छ तर नेतृत्व मात्र खड्किएर काम अघि बढ्दैन ।”
सुरेशले दिकदारी व्यक्त गर्दै भन्यो, “नातावाद र कृपावादले आएकाले चाप्लुसी गर्छन् । अनि कहाँबाट योग्य, स्वत: स्फूर्त, निष्पक्षताले चयन हुने ? त्यसो भए पो काम हुन सक्थ्यो ।”
बैठक बस्ने जानकारी भयो । सबैले निर्धारित समयमै उपस्थिती जनाए । तर पहिलाका निर्णय पारित भएनन् । सुरेश रोशनतिर फर्कियो र भन्यो, “खोई, काम भएन ?”
रोशनले आश्वासन दियो, “भोलि हुन्छ ।”
सुरेश जङ्गियो, “कहिलेको भोलि ?”
मदनले गम्भीर मुद्रामा मनमनै सोच्यो, “हाम्रो देशमै यो भोलिवादले जरो गाडेको छ । ‘भोलि, भोलि’ भन्दाभन्दै आजको झोली बक्सियोस्, त्यसै भनिएको रहेनछ ।”






