म निरन्तर हारिरहेको छु ।
आज फेरि हारें – नराम्ररी । तर पनि यो हारले मलाई पूर्ण रूपमा ढाल्न सकेको छैन । कहिले काहीँ लाग्छ, सबैलाई खुसी बनाउने चक्करमा मैले आफैँलाई बिर्सिँदै गएको छु । म पटक–पटक लडेको छु, तर उठ्ने हिम्मत अझै बाँकी छ । दौड सुस्त भएको होला, तर बाटो छाडेको छैन ।
साथ र सहयोग बिना केही पनि सम्भव हुँदैन भन्ने कुरा म बुझ्छु । तर कहिले काहीँ मेरा लागि साथ हराएजस्तो लाग्छ । जो आउँछ, सहयोग माग्छ- दिँदा खुशी हुन्छु । तर जब मेरो पालो आउँछ, सबै बिर्सिन्छन् भन्नु अतियुक्त नहोला । भनिन्छ, “एक हातले ताली बज्दैन” तर जीवनका अनुभवहरू बुझ्न म अझै असफल जस्तै छु ।
कहिले काहीँ परिवारको साथ नपाउनु जीवनकै सबैभन्दा ठूलो चुनौती जस्तो लाग्छ । मैले सकेसम्म परिवारको भरोसा जित्ने प्रयास गरेको छु । तर जब अवसर आउँछ, परिवार डर देखाउँछ, आलोचना गर्छ वा “सावधान रह” भन्छ । यही दबाबले मनमा गहिरो निराशा भरिन्छ ।
जागिर र विदा सम्बन्धी मेरो अनुभव पनि कम पीडादायी छैन । दशैंमा केवल तीन दिनको विदा लिएर घर पुगेको हुन्छु, परिवारको दबाबमा थप केही दिन बसिदिन्छु । फर्कँदा साहुले “काम गर्न आउनु पर्दैन” भन्दै विदा दिन्छन् । यो पीडा मैले कसलाई सुनाऊँ ?
हिजो पनि गुनासो थियो- “धेरै विदा लिइस् ।” आज पनि त्यही गुनासो दोहोरिन्छ । यसरी बस्दा केवल कम्पनी मात्र होइन, परिवार पनि घरमै नआएको भनेर गुनासो पोखिरहेको हुन्छ । यस्तो अवस्थामा कोही दु:खी नहोस् भनेर म आफ्ना सबै कुरा लुकाउँछु । तर अन्तत: दुखको भुमरीमा हराउने त म नै हुँ ।
कहिले काहीँ लाग्छ- आज केही गर्ने बेला साथ छैन, तर भनिन्छ “यो सम्पत्ति त तिम्रै हो ।” जुन चिजले आज साथ दिएको छैन, त्यसको अर्थ भोलि खासै हुन्छ जस्तो लाग्दैन । सायद म निरन्तर हारको यात्रामा भएकै कारण यस्ता प्रश्नहरू बारम्बार मनमा आइरहन्छ ।
प्रेम र सम्बन्धका चुनौती
जीवनमा प्रेम पनि सधैं अपेक्षा अनुसार नहुने रहेछ । म विश्वास गर्छु, म माया दिन्छु । तर कहिले काहीँ प्रेमले पनि सहयोग र समझदारी गुमाउने रहेछ । मैले दिएको माया र समर्थन सधैं स्वीकार हुँदैन, अनि मनमा गहिरो खालीपन बस्छ ।
उदाहरणका लागि, प्रेमिकाले मेरो प्रयास र संघर्ष बुझ्दिनन् । सानो कुरामा रिसाउने वा टाढा हुने व्यवहारले मनमा थप पीडा दिन्छ । यस्तो अवस्थामा लाग्छ- “म यो बाटोमा एक्लो छु ।” तर यही पीडाले पनि सिकाउँछ- प्रेम र जीवन सधैं एउटै दिशामा हिँड्दैन ।
कहिले काहीँ सम्बन्धले हामीलाई हार्ने अनुभव दिन्छ, तर त्यही हारले धैर्यता, समझदारी र आफूलाई आफैँ चिन्ने अवसर पनि दिन्छ ।
अवसर र विदेश
मैले अवसर खोजें – देशमै । विदेश जाने मौका नपाएको होइन, तर देशमै केही गर्ने अठोटले म जान सकिनँ । अचेल कहिले काहीँ सोच्न बाध्य हुन्छु- मैले विदेश नगएर ठूलै गल्ती गरेँ कि ? यहाँको वातावरण र सोचले मन कटक्क खान्छ । अनि लाग्छ- कसैले नचिन्ने, कसैले नभेट्ने ठाउँतिर यात्रा गरूँ, जहाँ म आफू आफैँसँग खुसी हुन सकूँ ।
कहिले काहीँ त लाग्छ- सफलता केवल मेरो प्रयासमै भरपर्छ । तर यही चुनौतीले मलाई सिकाएको छ – सफलता केवल परिणाम होइन, यात्रा र प्रयासमै पनि हुन्छ ।
असफलता र निराशा
हिजो पढाइले साथ दिएन । आज सोचेजस्तो भइरहेको छैन । जागिरमा पनि भाग्यले साथ दिएन । परिवारको दबाब, प्रेममा असमझदारी र अवसरको अभाव यी सबैले मनलाई निराशाले भरिदिएको छ । तर यही निराशाभित्र पनि आशा बाँकी छ । मैले बुझेको छु – गल्ती, असफलता र कठिनाइ केवल अनुभव हुन् । यी अनुभवहरूले नै मेरो धैर्यता, आत्मविश्वास र हिम्मतलाई अझ बलियो बनाउँदै लगेका छन् ।
म अझै प्रयास गरिरहेको छु ।
म अझै हाँसिरहेको छु ।
म अझै विश्वास राखिरहेको छु ।
हारले मेरो यात्रा कठिन बनाएको छ, तर समाप्त गरेको छैन । मैले भोगेका असफलता र निराशाले मलाई कमजोर होइन, अझ बलियो बनाएका छन् ।
जीवन अनिश्चित छ । परिवार, प्रेम वा अवसरले हामीलाई कहिले काहीँ निराश बनाउँछ । तर यही चुनौतीहरूले हाम्रो दृढता, धैर्यता र आशालाई मजबुत बनाउँछन् । हार केवल अनुभव हो । सफलता आउँदा मात्र जीवन मूल्यवान हुँदैन – प्रयास, सिकाइ र आत्मअवलोकन नै साँच्चिकै जीत हो ।
म मेहनत गर्दैछु । म संघर्षरत छु । म अझ सफल भएको छैन । तर म हार मान्ने छैन । यही बाँकी रहेको आशा, यही हिम्मत, यही प्रयास नै मेरो सबैभन्दा ठूलो जीत हो । “घाम अस्ताउँछ, तर भोलि फेरि उदाउँछ ।” “हारले मन कमजोर बनाउँछ जस्तो लाग्छ, तर असल अनुभवले मात्र हामीलाई साँच्चिकै बलियो बनाउँछ ।”






