काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत राजनीतिक दल र उम्मेदवारलाई दिइएको प्रचार प्रसारको समय आज मध्यरातबाट सकिँदैछ । निर्वाचन आयोगले फागुन ४ गतेदेखि आज राति १२ बजेसम्म प्रचार गर्न अनुमति दिएको थियो । त्यसपछि सुरु हुने ४८ घण्टे समयलाई ‘मौन अवधि’ भनिन्छ, जुन मतदान सम्पन्न नहुन्जेलसम्म कायम रहन्छ ।
मौन अवधि भनेको मतदानअघि मतदातालाई शान्त, स्वच्छ र स्वतन्त्र वातावरणमा निर्णय लिन अवसर दिने समय हो । यस अवधिमा कुनै पनि उम्मेदवार, राजनीतिक दल वा समर्थकले निर्वाचनलाई प्रभाव पार्ने किसिमका गतिविधि गर्न पाउँदैनन् । मत माग्ने, सभा जुलुस गर्ने, भाषण दिने, छलफल वा समीक्षा आयोजना गर्ने जस्ता गतिविधि पूर्ण रूपमा निषेध हुन्छन् ।
सामाजिक सञ्जाल, एसएमएस, फेसबुक, भाइबर लगायत विद्युतीय माध्यम प्रयोग गरेर मत माग्न वा प्रचार प्रसार गर्न पाइँदैन । उम्मेदवार वा दलको पक्षमा प्रभाव पार्ने समाचार वा सूचना प्रकाशन प्रसारण गर्न पनि रोक लगाइएको छ ।
निर्वाचन आयोगका अनुसार मौन अवधिको उद्देश्य मतदातालाई प्रचारको दबाब, आश्वासन र प्रभावबाट केही समय टाढा राखेर विवेकपूर्ण ढङ्गले निर्णय गर्न सक्षम बनाउनु हो । प्रचार अभियानका क्रममा मतदाताले विभिन्न पक्षबाट निरन्तर सन्देश प्राप्त गरिरहेका हुन्छन् ।
यस्तो अवस्थामा शान्त वातावरणमा सबै पक्षको समीक्षा गरी आफूले रोजेको उम्मेदवार चयन गर्न मौन अवधि महत्त्वपूर्ण मानिन्छ । पूर्वप्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मौन अवधिलाई मतदातालाई ‘फ्रेस’ भएर निर्णयमा पुग्न दिइने लोकतान्त्रिक अभ्यासका रूपमा व्याख्या गर्नुभएको छ ।
विश्वका कतिपय देशमा २४ देखि ७२ घण्टासम्म यस्ता व्यवस्था गर्ने चलन रहेको छ । मौन अवधिको उल्लंघन भए कडा कारबाही हुने व्यवस्था छ । निर्वाचन आयोगले निर्वाचनलाई प्रभाव पार्ने गतिविधिप्रति शून्य सहनशीलताको नीति अपनाइने स्पष्ट पारेको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार यदि मौन अवधिमा आर्थिक प्रलोभन, लेनदेन वा अन्य माध्यमबाट मत प्रभावित पार्ने प्रयास भएको पाइएमा उम्मेदवारी खारेज हुन सक्छ र दोषी व्यक्तिलाई छ वर्षसम्म कुनै पनि निर्वाचन प्रक्रियामा भाग लिन नपाउने व्यवस्था लागू हुन सक्छ । आवश्यक परे अन्य कानुनी कारबाहीसमेत अघि बढाइने जनाइएको छ ।
मौन अवधि व्यवस्थापनका दृष्टिले पनि महत्वपूर्ण मानिन्छ । यस अवधिमा मतदान केन्द्रको तयारी, सुरक्षा व्यवस्था मिलाउने, कर्मचारी परिचालन, सामाग्री व्यवस्थापन लगायतका काम सम्पन्न गरिन्छ । आचारसंहिता अनुसार मौन अवधि सुरु हुनुअघि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका प्रचार सामाग्री हटाइसक्नु पर्ने व्यवस्था छ ।
आगामी निर्वाचनका लागि देशभर हजारौं मतदान स्थल र केन्द्र निर्धारण गरिएका छन् । लाखौं मतदाता मतदान प्रक्रियामा सहभागी हुने तयारीमा छन् भने सुरक्षाकर्मी र कर्मचारी ठूलो संख्यामा परिचालन गरिएका छन् ।
समग्रमा मौन अवधि स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सुनिश्चित गर्ने महत्वपूर्ण चरणका रूपमा लिइन्छ, जसले मतदातालाई स्वतन्त्र र सचेत निर्णय गर्न आवश्यक वातावरण प्रदान गर्ने अपेक्षा गरिएको छ ।




