काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आज दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा आरोपपत्र दायर गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश नक्टाझिज, धनुषामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक वकिल अधिकारीविरुद्ध ४० हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ ।
कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ्ग कार्यमा प्रयोग हुने सवारी साधनहरू रोक्ने तथा फिल्डमा माटो र ग्राभेल झार्न नदिई विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस माग गरेको पुष्टि भएको आयोगले जनाएको छ ।
अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले अधिकारीलाई ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो बमोजिम जरिवाना र कैद सजाय मागदाबी गरिएको छ ।
सरकारी साक्षीविरुद्ध मुद्दा
अख्तियारले सरकारी साक्षी सुमित्रा कुमारी घिमिरे पुडासैनीविरुद्ध पनि विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । प्रतिवादी चन्द्रबहादुर अधिकारी समेत भएको घुस र रिसवत मुद्दामा अनुसन्धानका क्रममा सहयोग गरेको भन्दै भ्रष्टाचार निवारण ऐनको दफा ५५ बमोजिम सजायमा पूर्ण छुट दिई पुडासैनीलाई सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएको थियो ।
तर, पुडासैनीले विशेष अदालतमा बकपत्र गर्दा आयोगमा गरेको बयान र आरोप मागदाबीको प्रतिकूल हुने गरी बयान दिएको पुष्टि भएको छ । चन्द्रबहादुर अधिकारीले लिएको घुस बापतको रकमको चेक सुमित्रा कस्मेटिक एण्ड फेन्सीको नाममा काटिएको र उक्त चेक सटहीका लागि बैंकसम्म गएको देखिएकाले उनले भ्रष्टाचारमा मद्दत गरेको आयोगको ठहर छ ।
जिल्ला गोरखा, बारपाक सुलिकोट गाउँपालिका ७ स्थायी बतन भई हाल चन्द्रागिरी नगरपालिका ५ बस्ने पुडासैनीलाई ५० लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र बिगो बमोजिम जरिवाना माग गरिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।






