काठमाडौं । प्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आजदेखि सुरु भएको छ । आगामी असार १ गतेसम्म मलमास अथवा अधिकमास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ज्योतिषीय गणनाअनुसार ३६५ दिनको वर्ष हुन्छ । वर्षमा सौर र चान्द्रमास हुन्छन् ।
दुवैलाई समन्वय गर्न ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा मलमास वा अधिकमास आउँछ । एउटा औँसीदेखि अर्को औँसीसम्म संक्राति छैन भने त्यो महिनालाई मलमास वा अधिकमास भनिने भनेर विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको ज्योतिषहरु बताउँछन् ।
अधिकमास (मलमास) मा के गर्ने ? के नगर्ने ?
मलमास अर्थात् अधिकमासमा नित्य कर्म पूजा, पाठ, जप, ध्यान गर्नुहुन्छ । नित्य बसिरहेको व्रत गर्ने विभिन्न शास्त्रमा वर्णन गरिएको छ । पहिल्यैदेखि गर्दै आएको व्रतलाई नियमितता दिन हुने तर नयाँ व्रतको सुरुआत गर्नु नहुने नियम पनि रहेको छ ।
मलमासको समयमा महादान, माङ्गलिक कार्य अर्थात् विवाह, व्रतबन्ध, गृहनिर्माण, गृहप्रवेश जस्ता कर्म गर्नु हुँदैन । यसैगरी, गर्भाधान गर्नु हुँदैन, पहिले नै गर्भ रहेको भए दोष लाग्दैन ।
नवविवाहित श्रीमान् श्रीमतीले मलमासलाई छल्नुपर्छ भन्ने परम्परा पनि गर्भाधान गर्नु हँदैन भन्ने मान्यतामै आधारित रहेको धर्मशास्त्रविद्को भनाइ छ । बृहस्पति र शुक्र अस्त भएका बेला गर्न नहुने जति कर्म मलमासमा पनि गर्नुहुँदैन ।
आजदेखि मच्छेनारायण (मत्स्यनारायण) मेला सुरु हुँदै
रत्नपार्कबाट करिब आठ किमी दक्षिणपश्चिम भेगमा पर्ने मत्स्यनारायण मन्दिरमा मलमासका समयमा मेला लाग्ने गर्छ । यहाँ मत्स्यनारायणको प्रस्तर मूर्ति छ । मलमासको अवधिभर मच्छेनारायणमा टाढा टाढाबाट लाखौँ भक्तजन दर्शनका लागि आउने गरेका छन् ।
मलमास अवधिभर कीर्तिपुरबाट चार किमी दक्षिणमा पर्ने मच्छेनारायण मन्दिरमा नारायणको पूजा र पुरुषोत्तममास माहात्म्य वाचन हुन्छ । यो महिनामा भगवान् नारायणको पूजाआराधना गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्त गरिने विभिन्न धर्मग्रन्थमा उल्लेख गरिएको छ ।
सुनको जलप लगाएको गरुडको कलात्मक प्रवेशद्वार मच्छेनारायण मन्दिरमा छ । माछाको मुखबाट प्रकट भएको एक फिट अग्लो चार हातमा शङ्ख, चक्र, गधा र पद्म लिएको मूर्ति देख्न सकिन्छ । भगवान् विष्णुले दश अवतार लिँदा सबभन्दा पहिले मत्स्य शरीर धारण गरे । मत्स्यरूपी भगवान्ले प्रलयकालमा समुद्रमा डुङ्गाको काम गरी वेदलाई सुरक्षा गर्नुभएको पुराणमा उल्लेख छ ।
यसअघि २०८० साल साउन महिनामा अधिकमास परेको थियो । अधिकमास परेको महिनामा वैदिक सनातन धर्मावलम्बीले घरघरमा पुरुषोत्तममास माहात्म्य पाठ गर्ने र कथा सुन्ने गर्छन् ।






