महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका १२ थरुवाही गाउँका १० वर्षीय बालक गौतम यादव गत जेठ ७ गतेदेखि बेपत्ता भएका छन् । आशुतोष यादव र पुनम यादवका छोरा गौतम सो दिन बिहान करिब ६ बजे विद्यालय जान घरबाट निस्किएका थिए । उनी जलेश्वर नगरपालिका २ स्थित एड्भान्स लर्नर्स हिमालयन इङ्ग्लिस बोर्डिङ स्कुलमा कक्षा ४ मा अध्ययनरत छन् ।
परिवारका अनुसार विद्यालय पोसाक लगाएका गौतम झोला र चार थान कापी बोकेर साइकलमार्फत विद्यालय गएका थिए । तर विद्यालय गएपछि उनी घर फर्किएका छैनन् । परिवारले आफन्त तथा सम्भावित स्थानहरूमा खोजी गरेपनि उनको अवस्था अज्ञात रहेको जनाएको छ । बालक सम्पर्कविहीन भएपछि उनका बुवा आशुतोष यादवले जेठ ८ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा खोजतलासका लागि लिखित निवेदन दिएका थिए ।
निवेदन प्राप्त भएलगत्तै प्रहरीले बालकको खोजी कार्य तीव्र बनाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले जानकारी दिए । उनका अनुसार बालकको अवस्था पत्ता लगाउन विभिन्न स्थानमा खोज तलास जारी छ । प्रहरीले बालकबारे कुनै जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा सम्पर्क गर्न सर्वसाधारणसँग आग्रह गरेको छ ।




