बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा सर्पदंशको घटनाले एक हप्ता नबित्दै अर्को एक बालिकाको ज्यान गएको छ । पछिल्लो घटनामा जीतपुरसिमरा उपमहानगरपालिका १४ मौलापुरकी पाँच वर्षीया दियान्सी रानामगरको विषालु सर्पको डसाइबाट बिहिबार राति मृत्यु भएको हो ।
परिवारका अनुसार बालिका दियान्सी राति ८ बजे घरको पिढीमा बसिरहेको बेला सर्पले डसेको थियो । सर्पले डसेपछि तत्काल उपचारका लागि वीरगन्ज लैजाने क्रममा बाटोमै उनको निधन भएको हो । बालिकाको शव राति नै घर फर्काइएको छ ।
जीतपुर सिमरा १४ स्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक दीपेन्द्र साहले घटना बारे जानकारी आएको पुष्टि गरेका छन् । स्थानीय कृष्ण बहादुर र दिपिका राना मगरकी छोरी दियान्सी जीतपुर सिमरा १४ स्थित साना किसान शिक्षा सदनमा एलकेजीमा अध्ययनरत थिइन् ।
उनको असामयिक निधनपछि जीतपुरसिमराका निजी विद्यालयहरूले शुक्रबार शोक बिदा दिएका थिए । यो घटनासँगै जीतपुरसिमरामा सर्पदंशको जोखिम थप बढेको देखिएको छ । एक हप्ता नबित्दै दुई बालिकाले सर्पदंशबाट ज्यान गुमाउनु परेको छ ।
यसअघि गत असार ८ गते जीतपुरसिमरा १५ डुमरवानास्थित डाँडाटोलकी चार वर्षीया सुप्रिना दोङको पनि सर्पले डसेर ज्यान गएको थियो । यस क्षेत्रमा सर्पदंशका घटनामा वृद्धि भएसँगै स्थानीय प्रशासन र स्वास्थ्य संस्थाहरूले सर्पदंश बारे जनचेतना फैलाउन र उपचारका लागि आवश्यक व्यवस्था मिलाउनु पर्ने आवश्यकता देखिएको छ ।




