धनुषा । धनुषाको जनकपुरधाम उपमहानगरपालिका ९ स्थित थापा चोकमा रहेको थापा होटलबाट प्रहरीले पेस्तोल, म्यागजिन र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।
मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार शनिबार दिउँसो वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको विशेष प्रहरी टोलीले गोप्य सूचनाका आधारमा होटलमा जाँच गर्दा गैरकानुनी रूपमा राखिएका हतियार बरामद गरेको हो ।
प्रहरीले होटलबाट ‘ईगल र्याप्टर’ लेखिएको, काठको बिँड जडान भएको एक थान पेस्तोल, सोही पेस्तोलको म्यागजिन एक थान, ९ एमएम लेखिएको गोली एक थान तथा ७.६५ एमएम लेखिएको गोली तीन थान बरामद गरेको छ ।
अवैध हतियारसहित पक्राउ पर्नेमा धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ४ निवासी विजय यादवका २० वर्षीय छोरा अमन यादव र हंसपुर नगरपालिका ६ सोनीगामाका रामएकवाल मुखियाका १८ वर्षीय छोरा सुधिर मुखिया रहेका छन् ।
प्रहरीले बरामद भएका हतियार तथा गोलीसहित दुवै जनालाई नियन्त्रणमा लिई उनीविरुद्ध हात हतियार तथा खरखजाना सम्बन्धी कसुरमा थप अनुसन्धान अगाडि बढाइएको जनाएको छ ।




