बारा । बाराको प्रसौनी गाउँपालिका ६ का वडाध्यक्ष बृजकिशोर कुशवाहा अभद्र व्यवहारसम्बन्धी मुद्दामा पक्राउ परेका छन् । अदालतबाट जारी भएको पक्राउ पुर्जीका आधारमा प्रहरीले आइतबार उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार ३७ वर्षीय कुशवाहाविरुद्ध दर्ता भएको अभद्र व्यवहारसम्बन्धी मुद्दाको अनुसन्धानका लागि २०८३ वैशाख १७ गते अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
सोही पक्राउ पुर्जी तथा अदालतको अनुमति आदेश कार्यान्वयन गर्दै इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक सुमन लामाको नेतृत्वमा खटिएको प्रहरी टोलीले कलैया उपमहानगरपालिका २३ बैराठपुरबाट उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार पक्राउ परेका कुशवाहामाथि अभद्र व्यवहार मुद्दामा थप अनुसन्धान भइरहेको छ ।




