रौतहट । रौतहटको पूर्वी क्षेत्रस्थित गढीमाई नगरपालिका १ को बागमती नदीमा नुहाउने क्रममा आइतबार दुई बालकको डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार समनपुर–हरैया घाटमा दिउँसो करिब ३:२० बजे नुहाइरहेका स्थानीय भन्टु राय यादवका ८ वर्षीय छोरा अनिकेश यादव नदीमा डुबेका थिए ।
खोजीका क्रममा उनको शव फेला परेको थियो । सोही घटनामा स्थानीय सुरेश यादवका ८ वर्षीय छोरा आदित्य यादव पनि नदीमा बेपत्ता भएका थिए । खबर प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय समनपुरबाट प्रहरी सहायक निरीक्षक (सई) मुना पासवानको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली घटनास्थलमा पुगेर खोज तथा उद्धार अभियान सञ्चालन गरेको थियो ।
खोजी अभियानकै क्रममा अपराह्न ३:५४ बजे घटनास्थलबाट करिब ५० मिटर दक्षिणतर्फ बागमती नदीमै आदित्यको शव फेला परेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । दुवै बालकको शव आवश्यक मुचुल्का तथा पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।




