वीरगंज । पर्सा जिल्लाभित्र सार्वजनिक स्थानमा राखिएका राष्ट्रिय झन्डाको नियमित हेरचाह, संरक्षण तथा आवश्यक परे नयाँ झन्डा प्रतिस्थापन गर्न जिल्ला प्रशासन कार्यालय, पर्साले सबै स्थानीय तहलाई निर्देशन दिएको छ ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी परिपत्रमा विभिन्न चोक, पुल, उद्यान तथा सार्वजनिक स्थलमा राखिएका राष्ट्रिय झन्डा च्यातिएको, रङ उडेको र फोहोर अवस्थामा रहेको भन्दै जनस्तरबाट गुनासो आएको उल्लेख गरिएको छ ।
परिपत्रमा राष्ट्रिय झन्डा राष्ट्रको गौरव, स्वाभिमान र पहिचानको प्रतीक भएकाले यसको सम्मान र मर्यादा कायम राख्नु सबै नागरिकको संवैधानिक तथा नैतिक दायित्व भएको उल्लेख छ ।
साथै, राष्ट्रिय झन्डा र राष्ट्रिय गान प्रयोग सम्बन्धी कार्यविधि, २०६९ अनुसार सार्वजनिक स्थानमा प्रयोग हुने झन्डा सफा, दुरुस्त र मर्यादित अवस्थामा हुनुपर्ने कानूनी व्यवस्था रहेको स्मरण गराइएको छ ।
जिल्ला प्रशासन कार्यालयले स्थानीय तहलाई सार्वजनिक स्थलमा रहेका झन्डाको तत्काल निरीक्षण गरी च्यातिएका, रङ उडेका वा फोहोर भएका झन्डा हटाएर मापदण्ड अनुसारका नयाँ झन्डा राख्न निर्देशन दिएको छ ।
साथै, झन्डाको नियमित अनुगमन गर्ने व्यवस्था मिलाउन, पुराना तथा मक्किएका झन्डालाई कार्यविधि अनुसार सम्मानपूर्वक विसर्जन गर्न तथा झन्डा राखिएका स्थानको सरसफाइ र सुरक्षाको जिम्मेवारी सम्बन्धित स्थानीय तहले लिनुपर्ने उल्लेख गरिएको छ ।
कार्यालयले राष्ट्रिय झन्डाको गरिमा र सम्मान कायम राख्न निर्देशनको प्रभावकारी कार्यान्वयन गर्न सबै स्थानीय तहसँग आग्रह पनि गरेको छ ।




