सिराहा । सवडिभिजन वन कार्यालय बन्दीपुर, सिराहाका प्रमुख राम केवल रायउपर भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा उनीविरुद्ध मुद्दा दर्ता गरेको हो ।
आयोगको बर्दिवासबाट खटिएको टोलीले गत असार २३ गते उनलाई १२ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो । अनुसन्धानको क्रममा रायले काष्ठ उद्योगमा काठ लिई आएका ट्रकको शिल खोलेको मुचुल्का गरिदिएबापत घुस बुझेको पाइएको अख्तियारको ठहर छ ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम १२ हजार रुपैयाँ बिगो कायम गर्दै उनलाई कैद र जरिवाना सजाय हुन मागदाबी गरेको छ ।






