बारा । बाराको सिमराकी तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या प्रकरणमा पक्राउ परेका आरोपीको बयानसम्बन्धी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा एक प्रहरी हवल्दार पक्राउ परेका छन् ।
अनुसन्धानका क्रममा आरोपीसँग सोधिएका प्रश्न तथा उनका जवाफ समेटिएको भिडियो सोमबार बिहान सामाजिक सञ्जालमा एकाएक भाइरल भएपछि प्रहरीले घटनाबारे छानबिन थालेको थियो ।
छानबिनका क्रममा भिडियो बाहिरिनुमा आफ्नै मातहतका प्रहरी हवल्दार कुमार विकको संलग्नता देखिएपछि उनलाई नियन्त्रणमा लिइएको बारा प्रहरीले जनाएको छ ।
बारा जिल्लामै दरबन्दी रहेका हवल्दार विकले उक्त भिडियो आफ्ना एक साथीलाई म्यासेन्जरमार्फत पठाएको र त्यहीँबाट भिडियो सामाजिक सञ्जालमा पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।
बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार आरोपीको गोपनीयताको अधिकार उल्लंघन हुने गरी भिडियो सार्वजनिक गरेको आरोपमा विकलाई नियन्त्रणमा लिइएको हो ।
भिडियो आफ्नो साथीलाई म्यासेन्जरमा पठाएको र त्यहीँबाट सामाजिक सञ्जालमा फैलिएको देखिएको छ । पक्राउ परेका विकलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






