बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका २ सिमरा मेनरोडस्थित एक होटलमा साथीको हत्या गरी फरार भएका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जीतपुर सिमरा २ पाँचधुरे टोलका २५ वर्षीय आयुष राई रहेका छन् ।
राईलाई प्रहरीले शनिबार राति जीतपुर सिमरा १६ महेन्द्रनगरस्थित धानखेतबाट पक्राउ गरेको हो । शनिबार साँझ करिब ५ बजे सिमरास्थित सम्झना स्टाफ होटलमा भएको विवादका क्रममा चक्कु प्रहार हुँदा स्थानीय ३५ वर्षीय शेरबहादुर खड्काको मृत्यु भएको थियो ।
प्रहरीका अनुसार खाजा खान होटल पुगेका व्यक्तिहरूबीच विवाद भएपछि भान्सामा रहेको धारिलो चक्कुले खड्काको घाँटीमा प्रहार गरिएको थियो । गम्भीर घाइते खड्कालाई तत्काल उपचारका लागि वीरगञ्जस्थित अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनापछि फरार रहेका राईको खोजी गर्ने क्रममा प्रहरीले उनलाई महेन्द्रनगरस्थित धान खेतबाट पक्राउ गरेको हो । घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले अन्य तीन जनालाई समेत नियन्त्रणमा लिएको छ । उनीहरूको परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन ।
यसैगरी, घटनाबारे सोधपुछका लागि होटल सञ्चालिकालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सिमराका प्रमुख डीएसपी दयाकृष्ण भट्टले घटनामा संलग्न रहेको आशङ्कामा अन्य तीन जनालाई पनि पक्राउ गरिएको र होटल सञ्चालिकालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको बताए ।
उनका अनुसार घटनाको कारण, चक्कु प्रहार गर्ने व्यक्तिको भूमिका तथा अन्य व्यक्तिको संलग्नताबारे थप अनुसन्धान भइरहेको छ । प्रहरीले घटनाको वास्तविक कारण र घटनामा संलग्न अन्य व्यक्तिहरूबारे अनुसन्धान जारी रहेको जनाएको छ ।




