सुस्ता । अविरल वर्षासँगै नारायणी नदीमा पानीको बहाव बढेपछि पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ स्थित सुस्ता गाउँको थारुटोलामा बाढीको पानी पसेको छ ।
बाढीका कारण जोखिममा परेका स्थानीयवासीको उद्धारका लागि शनिबार बिहान सशस्त्र प्रहरी परिचालन गरिएको थियो । बिहान करिब ८:४० बजे सशस्त्र प्रहरी बल, नेपाल बीओपी सुस्ताबाट सशस्त्र प्रहरी निरीक्षक मनोज कार्कीको नेतृत्वमा २१ जनाको टोली उद्धारमा खटिएको थियो ।
उद्धार टोलीले डुबानमा परेका २९ जना स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । टोलीले एक गाई र १३ वटा बाख्रासमेत सकुशल उद्धार गरी सुस्ता गाउँपालिका ५ स्थित होल्डिङ सेन्टरमा पुर्याएको सशस्त्र प्रहरी बल, नेपाल नं। २६ गणका गणपति गोविन्दबहादुर खातीले जानकारी दिए ।
गणपति खातीका अनुसार नारायणी नदीमा पानीको बहाव निरन्तर बढिरहेकाले सुस्ता क्षेत्रमा बाढीको जोखिम अझै कायम छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै सशस्त्र प्रहरीले शुक्रबारदेखि नै स्थानीयवासीलाई सचेत गराउँदै माइकिङ गर्दै आएको थियो ।
बाढीको अवस्था र नदीको बढ्दो बहावलाई मध्यनजर गर्दै सशस्त्र प्रहरीको टोलीले थप उद्धार तथा सुरक्षा कार्यलाई निरन्तरता दिइरहेको खातीले बताए । जोखिममा रहेका नागरिकको उद्धार तथा सुरक्षाका लागि आवश्यक जनशक्ति र स्रोतसाधन परिचालन गरिएको उनले जानकारी दिए ।




