रौतहट । रौतहटको बौधिमाई नगरपालिका ८ बंकुलमा भएको मोटरसाइकल दुर्घटनामा २८ वर्षीय युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा परोहा नगरपालिका ९ का जितेन्द्र दासको मृत्यु भएको हो ।
उनी भारतीय नम्बर प्लेटको बीआर ०५ एयू ०९०५ नम्बरको मोटरसाइकलमा मौलापुरबाट बंकुलतर्फ जाँदै थिए । बुधबार राति भित्री सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको जानकारी पाएपछि प्रहरी चौकी बंकुलबाट असई रमेशप्रसाद यादवको नेतृत्वमा टोली बिहान करिब ५:३० बजे घटनास्थल पुगेको थियो । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मौलापुरबाट इन्स्पेक्टर भरत केसीको नेतृत्वमा थप टोली परिचालन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय गौरबाट समेत मुचुल्का टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ । मृतक दासको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमले जानकारी दिए । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




