वीरगञ्ज । वीरगञ्जमा मिनी ट्रकको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । पर्साको वीरगञ्ज महानगरपालिका १० बजरंग टोलस्थित भित्री सडक खण्डमा मिनी ट्रकको ठक्करबाट भारतको बिहार राज्य, मोतिहारी जिल्ला, हरैया वडा नं. १ भलुवाहा टोलका ४५ वर्षीय खेखन पण्डितको मृत्यु भएको हो ।
आदर्शनगरबाट सिर्सिया पुलतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ क ३५३७ नम्बरको मिनी ट्रकले सोही दिशातर्फ साइकलमा गइरहेका पण्डितलाई ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएका पण्डितलाई उपचारका लागि नारायणी अस्पताल, पर्सा लगिएको थियो । उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
घटनापछि मिनी ट्रक चालक बारा जिल्लाको परवानीपुर गाउँपालिका ४ चैनपुर निवासी ३६ वर्षीय टुना देवानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनास्थलमा स्थानीयले कुटपिट गर्दा चालक देवानको टाउकोमा चोट लागेको र उनको अवस्था सामान्य रहेको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।




