बुटवल । रुपन्देही तिलोत्तमा नगरपालिका-५ की २७ वर्षीया सीता भण्डारी पौडेलले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । जिल्ला प्रहरी कार्यालयले उनको मृत्यु प्रकरण बारे हालसम्म भएका अनुसन्धान बारे जानकारी दिँदै आत्महत्या गरेको दावी गरेको हो ।
सीता २० भदौको विहान साढे ४ बजे आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । उनको हत्या भएको भन्दै माइती पक्ष, आफन्त तथा स्थानीयले आन्दोलन गर्दै आएका छन् ।
सीताको मृत्यु प्रकरणलाई लिएर आन्दोलन सुरू भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय बुटवलले घटनाबारे संयुक्त रुपमा अनुसन्धान थालेका थिए ।
अनुसन्धान अनुसार पौडेलको मृत्यु कर्तव्यबाट नभई झुण्डिएर भएको देखिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले जानकारी दिएका छन् । अनुसन्धानका क्रममा मृतक सीता र उनका श्रीमान टिका पौडेलको मोबाइलको प्राविधिक परीक्षणसमेत गरिएको थियो ।
डिजिटल फरेन्सिक ल्याबमा मोबाइल परीक्षण गर्दा सीताले आफ्ना श्रीमानको नाममा आइफोनको नोट एप्लिकेसनमा ‘सुसाइड नोट’ लेखेको भेटिएको थापाले बताए । अनुसन्धान अनुसार आत्महत्या गर्नुअघि सीताले श्रीमानलाई रातको साढे १२ बजेतिर सुसाइड नोट लेखेको पाइएको छ ।
फरेन्सिक रिपोर्टमा सीताले नेपालीमा लेखेको सुसाइड नोट प्राप्त भएको थापाले बताए । ‘सुसाइड नोटमा मलाई माफ गरिदिनुहोला, मेरो अर्को जुनी भयो भने म हजुरहरूकै काखबाट जन्मिन चाहन्छु, मलाई यो जिन्दगीबाट पुग्यो, म बाँच्न सकिनँ भनी लेखिएको छ,’ थापाले भने ।
मोबाइलको फरेन्सिक परीक्षण हुँदा सुसाइड नोट र त्यसअघि सीताले श्रीमानलाई लेखेको एसएमएसहरूको परीक्षण गरिएको थापाले बताए । ‘यसरी परीक्षण गर्दा उनले आत्महत्याअघि लेखेको सुसाइड नोट र त्यसअघि श्रीमानलाई लेखेको एसएमएसको प्यार्टनसमेत मिलेको देखिन्छ,’ उनले भने । न्युज कारखाना






