काठमाडौं । गृह मन्त्रालयले पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनैपनि व्यक्तिहरुलाई घर, अपार्टमेन्ट, फ्ल्याट, कोठा आदि भाडामा नदिन र त्यस्ता व्यक्तिहरुलाई कामकाजमा समेत नलगाउन अनुरोध गरेको छ । केही दिनदेखि अफगानी शरणार्थी नेपाल भित्रिन थालेको खवरपछि गृहले यस्तो अनुरोध गरेको हो ।
मन्त्रालयले भनेको छ, ‘पछिल्ला केही दिनका घटनाहरुबाट कतिपय विदेशी नागरिक परिचय लुकाई अनाधिकृत रुपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास भइरहेको बुझिएकोले पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनै पनि व्यक्तिहरुलाई घर, अपार्टमेन्ट, फ्ल्याट, कोठा आदि भाडामा नदिन र त्यस्ता व्यक्तिहरुलाई कामकाजमा समेत नलगाउन सबैमा अनुरोध गरिन्छ ।’
साथै, मन्त्रालयले कोही पहिचान नखुलेका विदेशी नागरिकहरु देखिए वा भेटिएमा नजिकको प्रहरी चौकीमा खबर गरी सहयोग गर्न समेत अनुरोध गरेको छ । अफगानिस्तानमा तालिबानले कब्जा गरेसँगै अफगानी नागरिकहरु विभिन्न देशमा शरण लिन पुगेका छन् ।





