काठमाडौं । कुनै विषयको दार्शनिक पक्ष र वैज्ञानिक पक्ष आफ्नो ठाउँमा छँदै छ, व्यवहारिक पक्षमा सुक्ष्मभन्दा सुक्ष्म कुरालाई कसरी बुझ्ने ? कसरी अनुभूत गर्ने ? भन्ने नै सबैभन्दा महत्वपूर्ण कुरा हो । यसलाई सबैभन्दा विशिष्ट पक्षका रुपमा पनि लिने गरिएको पाइन्छ ।
हामीले सरल तरिकाले कसरी बुझ्नुपर्ने हुन्छ भने मान्छेसँग दुईवटा ‘सेल्फ’ छ, एउटा रियल सेल्फ छ– हाम्रो आत्मा, जसले मौनको भाषा बुझ्छ । अर्को, माइन्ड भनेर हामी जुन कुरालाई भनिरहेका छौं, जुन अनरियल सेल्फ हो । यसले कतिपय अवस्थामा मानिसलाई कन्फ्युज बनाएको छ ।
कुनै पनि व्यक्तिले गहन साधना गरेको छैन भने उसलाई माइन्ड र स्प्रिटको बारेमा कन्फ्युज भइरहन्छ किनभने उसले दूधको दूध अनि पानीको पानी भनेर अनुभूत गरेकै छैन । शब्दहरु सुनेर, कथाहरु पढेर, प्रवचनहरु सुनेर, डिस्कोर्सहरु सुनेर, भिडियो–अडियो सुनेर अथवा कुनै पनि लेखका किताबहरु पढेर मानिसलाई यो लेभलको अनुभूति हुन सक्दैन ।
एउटा कुरा हामीले के बुझ्नुपर्छ भने माइन्ड भनेको अनरियल सेल्फ भएकाले यसको आफ्नै स्वभाव हुन्छ । यो माइन्डमा हामीले के बनाएका छौं भने मन, बुद्वि, चित्त र अहंकार भन्छौं नि हामी । यो मनमा हामीले धेरै प्रकारका आइडेन्टिफिकेसन निर्माण गरेका छौं ।
जस्तो कि धनी, गरिब, जात, धर्म, संस्कृति, सभ्यता, भाषा, राजनीति आदि शब्दले मनलाई आल्हादित गरिरहेको हुन्छ । हाम्रो मन चाहिँ हामीले गरेको जुन आइडेन्टिफिकेसन छ, हामीले गरेको जुन आरोपण छ । त्यसमै आधारित भएर हाम्रो मन चल्ने गर्छ ।
यसका लागि कसैलाई राजनीति चाहिन्छ, कसैलाई धर्म चाहिन्छ, कसैलाई भाषा चाहिन्छ र कसैलाई साहित्य चाहिन्छ । यस्ता अनेकन कुरा मनले खेलाइरहेको हुन्छ । तर, जुन रियालिटी छ, मनको स्रोत छ, त्यो चाहिँ मनभन्दा पर छ । त्यसलाई हामीले स्प्रिट अर्थात् आत्मा भनिरहेका छौं, कन्सस्नेस भनिरहेका छौं ।
चाहे धर्ममा बनेका आइडेन्टिफिकेसन हुन्, चाहे राजनीतिको नाममा बनेका आइडेन्टिफिकेसन हुन्, चाहे राष्ट्र, जाति, सम्प्रदाय अनि भाषाका नाममा बनेका आइडेन्टिफिकेसन हुन् । यी सबै मन र अहंकारले निर्माण गरेका आइडन्टिफिकेसन हुन् ।
जबसम्म हामी मनका यस्ता आइडेन्टिटीलाई सचेत रुपमा अवेर भएर हेर्न सक्दैनौं, तबसम्म वास्तविक अनुभूति हुन सक्दैन । हामीले शब्दलाई जुन तरिकाले परिभाषित ग¥यौं, त्यसले हामीलाई मूलस्रोतको बाटो देखाउँदैन । यसरी हामीले मूलमा भूल गरिरहेका छौं । हामीले मौनतालाई नबुझिकन जब शब्दहरुको जंगलमा हराउँछौं, त्यसबाट हाम्रो रियल सेल्फ पहिचान गर्न सक्दैनौं ।
तपाईं कल्पना गर्नुहोस् त ब्राजिलको अमेजन जंगलमा हराउँदा कस्तो होला, त्यस्तै हामी शब्दहरुको जंगलमा हराउँदा त्यसबाट बाहिर निस्कने कुनै उपाय नै रहँदैन । हामीसँग त्यस्तो शैली र शिक्षा नै छैन, दीक्षा नै छैन । यसरी सही तरिकाले बताउने गुरुको अभाव छ ।
त्यसले गर्दा शब्दजालमा रुमलिएर मानिस तड्पीरहेको अवस्था छ । हाम्रो मनको लिमिटेसन छ । खुला स्थानबाट माथि हेर्दा हामी विशाल आकाशलाई देख्छौं । त्यही आकाशलाई घरको झ्यालबाट वा हवाईजहाजको झ्यालबाट हेर्दा सीमित तरिकाले अवलोकन गरिरहेका हुन्छौं ।
यसरी मनको तहबाट विचार प्रयोग गरेर हामीले जगतलाई हेर्ने जुन प्रयास गरिरहेका छौं, त्यो उपयुक्त छैन । साँच्चिकै भन्नुपर्दा मूलमा भूल भइरहेको छ । ‘आइडिया मुभ्स द वल्र्ड, हु मुभ्स द आइडिया’ अर्थात् हामी त्यो आइडियाको मूल स्रोतमा जान सकेनौं ।
एउटा अप्रेसन गर्ने डाक्टरको हातमा छुरा, काँटा, सियो आदि औजार छ, यसरी औजारहरु कुनै नराम्रो कुरा होइन । त्यसैगरी हाम्रो आइडिया वा विचार पनि आफैंमा नराम्रो कुरा होइन । त्यो आइडियालाई उत्पादन गर्ने हामीभित्र ‘साइलेन्स’ विद्यमान छ ।
मौनताको आधारभूमि, जसलाई हामीले जरो–किलो (रुट एन्ड लोकस) भन्न सक्छौं, शरीर र संवेदनाको जरो–किलो, विचार र भावनाको जरो–किलो, आइडिया र सोचाइका जरो–किलोमा नगएको कारणले गर्दा मानिस मानिस कन्फ्युजनमा छ । यही अवस्थाबाट आजको मानिस गुज्रिरहेको छ ।
जबसम्म मानिसले त्यो मौनताको झल्को पाउन सक्दैन, तबसम्म गीता, वेद, बाइबल, कुरान आदि ग्रन्थ पढे पनि ऊ कन्फ्युजनमा आउँछ । यी ग्रन्थहरु त विचारका संग्रह हुन्, शब्दका संग्रह हुन् ।
मूलभूत प्रश्न चाहिँ ती विचारहरुले कहाँनेर इंगित गर्न खोजेका छन् भन्ने हो । म यहाँ बसिरहेको छु, मैले सूर्यतिर औंलाले देखाए भने बिस्तारै सूर्यको बारेमा अनुभूति गर्ने यात्रा सुरु हुन्छ । तर, हातको औंलालाई समातेर बस्यो भने यात्रामा कसरी अगाडि बढ्न सकिन्छ ? नत्र सूर्यको अनुभूतिबाट वञ्चित हुन्छ ।
यसरी विचारको कारणले गर्दा मानिस अलमलमा परिरहेको छ । म यहाँ एउटा मानिसको मात्र कुरा गरिरहेको छैन, सम्पूर्ण मानवजाति नै विचारको शृंखलाले गर्दा बीचमै रुमलिरहेको छ ।
महत्वपूर्ण सवाल चाहिँ विचारातीत भएर विचारलाई कसरी प्रयोग गर्ने भन्ने हो । विचार त तीव्र शक्ति हो, विचारको आफ्नो विज्ञान छ, विचारमा तागत छ । तर, स्रोतलाई नबुझिकन हामीले विचारहरु खेलाइरहेका छौं ।
राजनीतिज्ञहरुले यति धेरै विचार खेलाइरहेका छन्, अर्थशास्त्रीहरुले यति धेरै विचारहरु खेलाइरहेका छन्, पत्रकारहरुले यति धेरै विचार खेलाइरहेका छन्, मनावैज्ञानिकहरुले यति धेरै विचार खेलाइरहेका छन्, वैज्ञानिक र दर्शनशास्त्रीले पनि विचार नै खेलाइरहेका छन् । संसारमा यति धेरै मानिसले यति धेरै विचार खेलाइरहेका छन्, तर, समाधान खै त जीवनमा ? प्रश्न यहीँनेर खडा भएको छ ।
मानिसको जीवनमा समाधान खै ? शान्ति खै ? मानिसको जीवनमा आनन्द खै ? मानिसको जीवनमा प्रेम खै ? मानिसको जीवनमा करुणा खै ? विचार खेलाउँदा–खेलाउँदै विभिन्न राष्ट्रले हाइपरसोनिक बम बनाइरहेका छन् ।
हरेक राष्ट्र अर्को राष्ट्रसँग डराएर बसेको अवस्था छ । एउटा सम्प्रदाय अर्को सम्प्रदायसँग डराएर बसेको अवस्था छ । यस्तो स्थिति किन आयो भने हामीले विचारलाई अभद्र तरिकाले प्रयोग गरिरहेका छौं । विचारको मूल स्रोत मौन हो, जबसम्म हामी त्यहाँसम्म पुग्दैनौं, समाधान निस्कने सम्भावना देख्दिनँ म । (योगगुरु ब्रह्मश्री मित्रसँग न्युज कारखानाले गरेको कुराकानीमा आधारित)






