सुनसरी । ‘नेपालको संविधानले आमाको नामबाट पनि नागरिकता पाउने व्यवस्था गरेको छ । तर, मैले आमाको नामबाट नागरिकता किन नपाउने ?’ यो प्रश्न हो, इटहरी उपमहानगरपालिका वडा नम्बर ४ की रञ्जना राउतको । इटहरी उपमहानगरपालिकाले सोमबार खनारमा आयोजना गरेको ‘नागरिकता प्राप्तिमा भएका समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रम’ मा रञ्जनाले सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव समक्ष यस्तो प्रश्न राखिन् ।
रञ्जनाका दिदी बहिनीले १२ पास गरेका छन् । तर, नागरिकता नभएका कारण कहीँ कतै जागिर पाउन सकेका छैनन् । बुबा वर्षौंदेखि बेपत्ता छन् । आमाको विवाह अघिको नागरिकता छ । तर, उनीहरुले आमाको नामबाट नागरिकता पाउन सकेका छैनन् । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले संविधानले आमाका नामबाट नागरिकता पाउने व्यवस्था गरे पनि कानुन बनिनसकेले आमाका नामबाट नागरिकता दिन नसकिएको बताए ।
कानुन बन्ने बित्तिकै नागरिकता दिन सकिने उनको भनाइ छ । कार्यक्रममा इटहरीका ४२ जना महिला र ८ जना पुरुषले नागरिकताको प्रमाणपत्र पाउन नसक्दा झेलेको दुःख सुनाए । इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमका अनुसार कार्यक्रममा विशेष गरी चार किसिमका समस्याले नागरिकता नपाएका गुनासाहरू पेस भएका थिए । धेरै जसोको बुबा बेपत्ता भएका वा नभएका र आमाको नामबाट नागरिकता पाउन नसकेको समस्या देखियो उनले बताइन् ।
भारतबाट नेपालमा विवाह गरी आएका तर उताको कागजपत्र नभएका कारण नागरिकता बन्न नसकेका र विभिन्न ठाउँदेखि बसाइँसराइ गरी आएका तर कागजपत्र नभएका कारण नागरिकता पाउन नसकेको पाइएको उनले जानकारी दिइन् । यस्तै आफन्तका नाममा कोही पनि थाहा पत्तो नभएका व्यक्तिहरूले पनि नागरिकता पाउन नसक्दा समस्या झेलिरहेको उनको भनाइ छ ।
उनीहरुले नागरिकता पाउन नसकेको गुनासो नागरिकताको सिफारिस गर्ने निकाय, वडाका अध्यक्षहरू रुपेश चौधरी र हेमानन्द दाहाल तथा नागरिकता दिने जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीसमक्ष गुनासो राखेका हुन् । प्रमुख जिल्ला अधिकारी यादवले सबैको कुरा सुनिसकेपछि नागरिकता प्राप्तिका लागि पुर्याउनुपर्ने प्रक्रिया र कागजातका बारेमा जानकारी गराएका थिए । कार्यक्रमकी अध्यक्ष शान्ता अधिकारीले आमाका नामबाट नागरिकता पाउने कानुन संसद्बाट चाँडै पारित हुनुपर्ने बताइन् ।
कार्यक्रममा वडा सचिव वालकुमार पोखरेलले वडामा सिफारिस लिन आउँदा ल्याउनु पर्ने कागजागतहरुको बारेमा जानकारी दिएका थिए । इटहरी उपमहानगरपालिकाले महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा उक्त कार्यक्रमको आयोजना गरेको हो । उपप्रमुख लक्ष्मी गौतमका अनुसार मंसिर २३ गते इटहरी सम्मेलन गरेर महिला हिंसा विरुद्धको १३ दिने विशेष अभियान समापन गरिने छ ।




