काठमाडौं । संयुक्त राज्य अमेरिकाले एमसीसी अनुमोदन गर्ने वा नगर्ने भन्ने निर्णय नेपालको हातमा रहेको भन्दै अमेरिकाको कुनै हस्तक्षेप नरहने प्रष्ट पारेको छ ।
काठमाडौंस्थित अमेरिकी दूतावासले शनिवार साँझ प्रेस विज्ञप्ति जारी गर्दै एमसीसी अनुमोदन गर्ने वा नगर्ने निर्णय केबल नेपालको सार्वमौम विषय भएको प्रष्ट पारेको हो ।
चीनले एमसीसीका सन्दर्भमा अमेरिकाले नेपालमाथि दबाबमूलक कुटनीतिक हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएको भोलिपल्ट अमेरिकाले जवाफ दिएको हो ।
अमेरिकी दूतावासको विज्ञप्तिमा भनिएको छ–नेपाली नेताहरुले एमसीसीको अनमोदन गर्न कि गर्र्दैनन् भन्ने निर्णय नेपालले गर्ने हो । एउटा लोकतान्त्रिक र सार्वभौम मुलुकका रुपमा यो केबल नेपालको निर्णयको विषय हो ।
अमेरिकाले नेपाल र अमेरिकाबीचको सम्बन्धको ७५ औं वर्ष समेत रहेको स्मरण गराउँदै अमेरिका सधैं नेपालको परिर्वतन र विकासको पक्षमा रहेको जनाएको छ ।
दूतावासले एमसीसी अनुदान अमेरिकी जनताका तर्फबाट नेपाललाई उपहार भएको समेत जनाएको छ । यसले रोजारी सिर्जना र पुर्वाधार विकासमा सघाउने तथा नेपाली जनताको जीवनस्तर सुधार गर्ने जनाएको छ ।





