काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्र वरपर भरपर्दो ट्राफिक व्यवस्थापन मिलाएको छ । पशुपति क्षेत्रमा पूजाआजामा आउने भक्तजन एवम् दर्शनार्थीहरूको भिडभाडलाई मध्यनजर गरी प्रहरीले सहज आवतजावतको प्रबन्ध मिलाएको हो ।
टाढा टाढाबाट भक्तजनहरू आउने हुनाले उनीहरूको सुविधाका लागि निर्बाध आवतजावतको व्यवस्था मिलाइएको छ भने गौशाला क्षेत्र आसपासमा छुट्टाछुट्टै स्थानमा पार्किङ्ग गर्ने स्थानहरू समेत तोकिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
अन्य नियमित दिनझैँ चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्बाध रूपमा सवारी साधन चलाउने व्यवस्था मिलाइएको तर भक्तजनहरूको भिडभाड अत्यधिक भई सवारी सञ्चालनमा समस्या हुने अवस्था देखिएमा उक्त रुटमा भक्तजन बाहेकका सवारीलाई वैकल्पिक मार्गबाट सञ्चालनको व्यवस्था मिलाइने महाशाखाका प्रमुख एसएसपी जोशीले बताए ।
दर्शनार्थीको चापका कारण गौशाला क्षेत्र भई चक्रपथमा चल्ने यातायात सञ्चालन गर्न नसक्ने अवस्था आएमा मित्रपार्क(गौशाला(तिलगंगा क्षेत्रमा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्गबाटसवारी सञ्चालनको व्यवस्था मिलाईने समेत एसएसपी जोशीले जानकारी दिए ।
विभिन्न क्षेत्रबाट आउनेदर्शनार्थी एवं भक्तजनहरूका सवारी साधनहरूलाई सिफल चौर, गौरीघाट करिडोर, गुह्हेश्वरी, तिलगंगाको पार्किङ्ग र तिलगंगा करिडोरमा पार्किङ्गको व्यवस्था मिलाएको छ ।
यसैगरी पशुपति क्षेत्र विकास कोषको कार्यालय भित्रकोष तथा पासबाहक सवारी साधन, गौशाला प्रहरी कार्यालय भित्र सुरक्षा निकाय तथा पासवाहक सरकारी सवारी साधन र बनकाली क्षेत्रमा अन्य अत्याबश्यक प्रयोजनका सवारी साधन पार्किङ गर्ने व्यवस्था मिलाएको महाशाखाले जनाएको छ ।
ट्राफिक महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक संजिव शर्मा दासलेगौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न सक्ने अवस्था नभएमा चाबहिलबाट गौशालातर्फ, पूरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइएको जानकारी दिए ।
उनले तिनकुनेबाट सिनामंगल तिलगंगातर्फ, चाबहिलबाट गौशालातर्फ र बागमती करिडोरबाट गौरिघाट र तिलगंगा क्षेत्र भई चल्ने मालबाहक सवारी साधनहरूलाई सो खण्डमा निषेध गरी डाईभर्सनको प्रबन्ध मिलाइने समेत बताए ।
महाशिवरात्रि पर्व अवधिभरको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित एवम् प्रभावकारी बनाउनको लागि करिब नौ सय ट्राफिक प्रहरी परिचालन हुने समेत जानकारी दिए । ट्राफिक महाशाखाले पशुपतिनाथको मन्दिर दर्शन गर्न आउने दर्शनार्थीबाहेक चाबहिल, गौशाला, तिलगंगा हुँदै अन्यत्र जाने सवारी साधनहरूलाई वैकल्पिक मार्गको प्रयोग गर्न समेत अनुरोध गरेको छ ।




