काठमाडौं । सीमा नाकामा भइरहेको आवतजावतका कारण कोरोना संक्रमितहरुको संख्या बढेको पाइएको छ । पर्साको वीरगञ्ज नाका भई नेपाल प्रवेश गर्नेमा कोरोना संक्रमण पुष्टि हुने क्रम बढ्दै गएको हो । सीमा नाकामा स्थापित हेल्थ डेस्कमा एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा संक्रमितको संख्या बढ्दै गएको पाइएको छ ।
गत चैत र वैशाखमा एन्टीजेन विधीबाट परीक्षण गर्दा एक जनामा पनि संक्रमण पुष्टि भएको थिएन । तर जेठमा तीन जनामा संक्रमण देखिएकोमा असार २३ गतेसम्म १६ जनामा संक्रमण देखिएको डेस्क इञ्चार्ज डा. अनिसा महतोले जानकारी दिनुभयो ।
गत चैत र वैशाखमा तीन हजारभन्दा बढीको एन्टीजेन परीक्षण गर्दा एक जनामा पनि संक्रमित नभेटिएकोमा असार २२ गतेसम्म दुई हजार ५०० को परीक्षण गर्दा १६ जना संक्रमित भेटिएको तथ्याङ्क छ ।
भेटिएका सबै संक्रमित भारतीय भएकाले नेपाली सुरक्षाकर्मीको सहयोगमा भारतीय सुरक्षाकर्मीको जिम्मा लगाइएको डा. महतोले जानकारी दिनुभयो । संक्रमितको संख्या बढ्दै गए पनि वीरगञ्जको नारायणी अस्पतालमा पछिल्लो तीन महिनादेखि पीसीआर परीक्षण बन्द गरिएको छ ।
पीसीआर परीक्षणका लागि आवश्यक एजेन्ट कीटको अभावका कारण परीक्षण रोकिएको सूचना अधिकारी डा. उदय सिंहले जानकारी दिनुभयो ।
मुलुकका विभिन्न जिल्ला र सीमावर्ती भारतीय क्षेत्रमा समेत पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गए पनि पर्सा जिल्लामा नागरिकले स्वास्थ्य मापदण्डको पालनामा लापर्वाही गरिरहेका छन् । रासस




