बीबीसी । नेपालमा सन् २०१० यता मात्रै कम्तीमा तीन दर्जन हवाई दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरणको अभिलेखले देखाउँछ । हवाई दुर्घटनाका अधिकांश यस्ता घटनामा प्रतिकूल मौसम लगायतका अन्य विभिन्न पाटा औँल्याइएको पाइन्छ ।
तर सर्वसाधारण मानिसमा भने अत्यन्त पुराना विमान सञ्चालन भइरहेका कारण पनि नेपालमा बेलाबखत हवाई दुर्घटना भइरहने बुझाइ रहेको पाइन्छ ।
के विमान पुरानो हुन्छ ?
अवकाशप्राप्त पाइलट प्रचण्डजङ्ग शाह विमान कति वर्ष पुरानो हो वा कति वर्ष देखि प्रयोगमा छभन्दा पनि जहाजको आवधिक रूपमा गरिने मर्मतसम्भारको काम महत्त्वपूर्ण हुने बताउँछन् ।
उनका अनुसार कुनै पनि विमानको दैनिक तथा निश्चित घण्टा उडान गरेपछि परीक्षण गरिन्छ । त्यसबाहेक कतिपय समयमा विदेशमै लगेर पनि विमानको परीक्षण गरिन्छ ।
उनका अनुसार विमानको इन्जिनमा धेरै किसिमका कम्प्युटर जडान गरिएको हुन्छ जसले विभिन्न पार्टपुर्जा बारे जानकारी गराइरहेको हुन्छ । त्यस कारण उडान योग्यता कायम रहेसम्म विमान पुरानो नहुने शाहको तर्क छ ।
सरकारी मापदण्डले के भन्छ ?
अधिकारीहरूका अनुसार नेपालमा हवाई नीतिद्वारा विमान खरिदको प्रावधान तय गरिएको छ । हवाई नीति २०६३ मा प्रेसराइज्ड विमानको हकमा १५ वर्षभन्दा पुरानो वा ४५,००० प्रेसराइजेशन साइकल पूरा गरेको जुन पहिले हुन आउँछ त्यस्ता वायुयानहरू आयात निषेध गरिएको उल्लेख छ ।
त्यस्तै प्रेसराइज्ड नभएका विमानको हकमा आयात गरिने जहाजको “केस-टु-केस बेसिसमा” र वायुयानको रेकर्ड पूर्ण जाँच गरी निर्णय गरिने नीतिमा उल्लेख छ । यो नीति अन्तर्राष्ट्रिय स्तरमा भने देश अनुसार वा निश्चित वायुसेवा सञ्चालकअनुसार फरक रहेको अधिकारीहरू बताउँछन् ।
नेपालमा नागरिक उड्डयन प्राधिकरणले विमानको सबै पार्टपुर्जा चेकजाँच गरेर उडान योग्यताको प्रमाणपत्र जारी गर्ने गरेको बताइन्छ । अन्तर्राष्ट्रिय नागरिक उड्ययन सङ्गठन (आईकाओ) ले पनि विमान उड्न योग्य भए त्यो कति पुरानो छ भन्ने कुराले फरक नपर्ने र त्यो योग्यता मान्यताप्राप्त प्राविधिकले प्रमाणीकरण गर्नुपर्ने मापदण्ड तय गरेको अधिकारीहरू बताउँछन् ।




