काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व सरकारले चुनाव गराए कांग्रेस समाप्त भएर जाने चिन्ता व्यक्त गरेका छन् । उनले ओली सरकारलाई जति सक्दो छिटो हटाउनु पर्ने बताए ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) को ५२ औं स्थापना दिवसको अवसरमा सोमबार वाल्मिकी क्याम्पसमा आयोजित कार्यक्रममा कोइरालाले भने, ‘यो सरकारलाई अपदस्थ गर्नुपर्छ ।’
साथै उनले सभापति शेरबहादुर देउवालाई छिटो ओली सरकार ढाल्न आग्रह पनि गरे । ‘सभापतिज्युले कदम पनि चाल्नुभएको छ, मधेशी दल पनि ओलीसँगै नजिक भएका छन्, हामी र माओवादी मिलेर गर्न सक्दैनाैं, तर फ्लोर क्रसिङ हुने सम्भावना छ,’ उनले भने ।
कर्णाली प्रदेशलाई ‘६ नम्बर प्रदेश’ को नाम दिँदै उनले माधव नेपाल समूहले गरेको ‘फ्लोर क्रस’लाई कांग्रेस नेतृत्वमा सरकार बन्न सक्ने उदाहरणका रूपमा दिएका थिए ।






