काठमाडौं । सरकारले काठमाडौं-तराई द्रुतमार्गको निर्माण अवधि फेरि चार वर्ष थप गरेको छ । मन्त्रिपरिषद्को वैशाख ५ गते बसेको बैठकले द्रुतमार्गको अवधि चार वर्ष थप्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन् ।
बिहिबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै मन्त्री शर्माले द्रुतमार्गको अवधि आगामी २०८३ चैत मसान्तसम्म थप्ने निर्णय गरिएको बताइन् । सरकारले चार वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७४ वैशाख २१ मा नेपाली सेनालाई निर्माण व्यवस्थापनको जिम्मा दिएको थियो ।
तर, साढे ६ वर्ष पुग्न लाग्दा एक चौथाइ पनि काम भएको छैन । यसको लागत पनि दोब्बर थपिएर २ खर्ब १४ अर्बभन्दा बढी पुगिसकेको छ । अझै पनि निर्माण कहिले सकिन्छ र अन्तिम लागत कति पुग्छ, निश्चित छैन । तर सरकारले फेरि चार वर्ष म्याद थप गरेको छ ।






