काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा जारी एसीसी प्रिमियम कप प्रभावित हुने सम्भावना बलियो छ । सोमबार नेपाल र यूएई बीच फाइलन खेल हुँदैछ । एसियन क्रिकेट काउन्सिल अन्तर्गतको खेलमा अपराजित नेपालले फाइलनमा परिचित प्रतिद्वन्द्वी यूएई पाएको हो ।
शनिबार वर्षाका कारण खेल अवरुद्ध हुँदा नेपाल समूह विजेतका आधारमा फाइनलमा पुगेको हो । यूएई भने डिएल मेथडबाट ओमानसँग जम्मा २ रनले जित हात पारेर फाइनलमा पुगेको हो । शनिबार सेमिफाइनलमा पराजित दुई टोली ओमान र कुवेतको खेल तालिका थियो । उक्त खेल पनि वर्षाका कारण प्रभावित बनेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिकदेखि सामान्य बदली रहेको र लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जन एवम् चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
यो क्रम तीन दिनसम्म जारी रहने र मंगलबार सामान्य सुधार हुने भनिएको छ । विभागले मंगलबार हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको पनि उल्लेख गरेको छ । आइतबारदेखि मंगलबारसम्मको मौसम बुलेटिनमा मंगलबारसम्म वर्षा हुने प्रक्षेपण गरिएको छ ।




