काठमाडौं । जिल्ला प्रहरी कार्यालय महोत्तरीका लेखापाल विनोद विष्ट घुस रकमसहित रंगेहात समातिएका छन् । घुस रकम लिन काठमाडौं आएका नायव निरीक्षक (सब-इन्स्पेक्टर) विष्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौंबाट नियन्त्रणमा लिएको हो ।
उनले भवन निर्माणको म्याद थप तथा भुक्तानी प्रक्रियामा सहजीकरण गरेको भन्दै सेवाग्राहीबाट २ लाख लिएका हुन् । सोही रकम लिन काठमाडौं आएका उनलाई नयाँ बानेश्वरको एक रेष्टुरेन्टबाट १ लाख ५० हजार रूपैयाँको चेक र ५० हजार रूपैयाँ नगदसहित अख्तियारले नियन्त्रणमा लिएको हो ।
घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीका अनुसार विनोद विष्ट कार्यालयको लेखापाल रहेको पुष्टि गर्दै पक्राउ परेको बारे आधिकारिक जानकारी भने नआएको बताएको छ ।




