सर्लाही । सर्लाहीसहित तराईका जिल्लामा चर्को घाम र तातो हावाले जनजीवन अत्यन्त प्रभावित बनेको छ । यहाँ एक सातादेखि अत्यधिक मात्रामा गर्मी बढ्दा जनजीवन कष्टकर बनेको हो ।
चर्को घाम र तातो हावाका कारण घर बाहिर निस्कन समेत मुस्किल परेको स्थानीय बताउँछन् । रातदिन पङ्खाको सहारामा बस्नु पर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।
चर्को घाम र तातो हावा चल्ने मध्यान्मा सडकबजार सुनसान देखिन्छ । गर्मीले दैनिकी नै प्रभावित बनेको छ । दैनिक मजदुरीमा निस्कनुपर्ने मजदुर र किसानलाई गर्मीले बढी प्रभाव पारेको छ भने विद्यालय जाने बालबालिका पनि प्रभावित भएका छन् ।
यस्तै, यहाँ चिसोपेय पदार्थ, तरबुजा जस्ता चिसो हुने खानेकुराको व्यापार बढेको छ । गर्मीसँगै हुलाकी र अन्य कच्ची सडकमा धुलोले सास्ती व्यहोर्नु पर्ने अवस्था रहेको छ ।
गर्मी छल्न पोखरी तथा नहरमा नुहाउन पुग्नेहरुको संङ्ख्यासमेत बढेको छ । यस क्षेत्रमा एक साताअघि केही दिन सामान्य झरी पर्दा गर्मी कम भएको थियो । अत्यधिक गर्मी र तातो हावाका कारण मानिस बिरामी पर्न थालेका छन् ।
अस्पतालमा झाडापखाला, अपज, टाइफाइड, ज्वरो, रुखाखोकी, घाँटी दुख्ने जस्ता गर्मीजन्य संक्रमणका बिरामी बढेका छन् । सर्लाहीमा गएको वर्ष असोजदेखि जमिन भिज्ने गरी पर्याप्त वर्षा हुन सकेको छैन । पानी नपर्दा यस क्षेत्रमा धुलो–धुँवाको प्रदूषण समेत बढेको छ ।




