बीबीसी । नेपालका ३५ जिल्लामा हजारौँ सङ्ख्यामा गाईभैँसीमा देखिएको लम्पी स्किन रोगका कारण अहिले किसानहरू चिन्तित बनेका छन् । पशु सेवा विभागको तथ्याङ्कले उक्त रोगबाट हालसम्म १५,००० भन्दा बढी गाईभैँसी प्रभावित भएको देखाएको छ ।
यद्यपि सङ्क्रमित चौपायाको सङ्ख्या अझ बढी हुन सक्ने अधिकारीहरू बताउँछन् । विभागस्थित एक वरिष्ठ अधिकारीका अनुसार यो रोगले अहिले महामारीको स्वरूप लिइसकेको छ ।
“प्रभावित ठाउँहरूमा ठ्याक्कै कति सङ्ख्यामा गाईभैँसी मरेका छन् भन्नेबारे रिपोर्ट आउन बाँकी छ,” वरिष्ठ पशु विकास अधिकृत डा. चन्द्र ढकालले बीबीसीसँग भने । “तर यो रोग अहिले महामारी बनेर सातै प्रदेशमा पुगिसकेको छ ।”
लम्पी स्किन कहाँकहाँ फैलिएको छ ?
लम्पी स्किन रोग पहिलो पटक अफ्रिकी मुलुक जाम्बियामा सन् १९२९ मा देखिएको थियो । केही समयसम्म त्यो सब-सहारन अफ्रिकामा सीमित रह्यो भने बिस्तारै उत्तर अफ्रिका, मध्यपूर्व, युरोप र एशियासम्म फैलियो ।
राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) का अनुसार सन् २०१९ को जुलाईमा पहिलो पटक बाङ्ग्लादेश, चीन र भारतमा लम्पी स्किन देखिएको थियो । पशु सेवा विभागका अनुसार नेपालको मोरङ जिल्लामा वि.सं. २०७७ सालको साउन २२ गते पहिलो पटक लम्पी स्किन रोग पुष्टि भएको थियो ।
आर्थिक वर्ष २०७७/०७८ मा आठ जिल्लाका ११ वटा पालिकामा देखिएको थियो भने भने २०७८/०७९ मा नौ जिल्लाका १९ पालिकामा विस्तार भएको पाइयो । त्यसपछि २०७९/०८० मा खासै नदेखिए पनि अहिले आएर सातवटै प्रदेशमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको ढकाल बताउँछन् ।
“सुरुमा तराई र मध्य पहाडका जिल्लामा सङ्क्रमण देखिएको थियो भने अहिले उच्च पहाडी तथा हिमाली क्षेत्रमा पनि पुगेको देखिन्छ,” उनले थपे । उच्च पहाडी तथा हिमाली क्षेत्रमा विस्तार हुनुमा जलवायु परिवर्तनसँग सम्बन्ध हुन सक्ने ढकालले बताए ।
लम्पी स्किन कस्तो रोग हो ?
गाईभैँसीलाई हुने एकदमै सङ्क्रामक रोग हो । लामखुट्टे, टोक्ने झिँगा र किर्नाजस्ता कीराको टोकाइबाट यो रोग सर्ने गर्छ । सङ्क्रमित गाईभैँसीको ओसारपसार, सामुदायिक चरणक्षेत्र दाना एवं पानी खाने साझा ठाउँ, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट र पशु उपचार गर्ने क्रममा फरक गाईभैँसीमा एउटै सुईको प्रयोगबाट पनि यो रोग सर्छ ।
गर्मीयाममा लामखुट्टे र किर्ना आदिको सङ्ख्या बढ्ने र ती कीरा बढी सक्रिय हुने भएकाले यसको प्रकोप अझ बढी देखिन्छ । डा. ढकालका अनुसार सङ्क्रमित गाईभैँसीको दूध उत्पादनमा तीव्र गिरावट आउनुका साथै उच्च ज्वरो आउने, तौल घट्ने र कहिलेकाहीँ मृत्यु पनि हुन सक्छ ।
“खास गरी ज्वरो नियन्त्रण गर्न सकिएन त्यस्तो अवस्थामा सङ्क्रमित गाईबस्तु मर्ने गर्छन् ।” यो रोग लागेका गाईभैँसीको छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रा र गोला गाँठा हुन्छन् । त्यस्तै सङ्क्रमित गाईभैँसीको थुतुनो, मुख र नाकमा घाउ देखिन्छ भने आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ निस्कन्छ ।
मान्छेमा सर्छ कि सर्दैन ?
पशु चिकित्सकहरूका अनुसार लम्पी स्किन ‘जूनोटिक डिजीज’ अर्थात् पशुबाट मान्छेमा सर्ने रोग होइन । एफएओले सन् २०१७ मा आफ्नो एउटा प्रतिवेदनमा लम्पी स्किन रोगले मानिसलाई असर गर्दैन भन्ने पुष्टि गरेको थियो । “यो रोग मान्छेमा सर्छ भन्ने कुरा कुनै पनि वैज्ञानिक अध्ययनले प्रमाणित गरेको छैन,” डा. ढकालले भने ।
यसको उपचार के हो ?
यो रोगको प्रभावकारी उपचार छैन । त्यसैले रोग लाग्न नदिनु नै उत्तम उपाय भएको पशु चिकित्सकहरू बताउँछन् । “यो रोग लाग्न नदिन खोप लगाउँदै आइएको छ । तर, रोग लाग्न नदिनका लागि भ्याक्सिनेशन हो । सङ्क्रमण भएको बेला खोप लगाउन हुँदैन,” ढकालले भने ।
भाइरसको प्रकृतिअनुसार १० देखि १५ दिनमा यो रोग निको हुन्छ । “एक पटक यो रोग लागेपछि एन्टिबडी बनेका कारण दोहोर्याएर गाईभैँसीलाई फेरि लाग्दैन,” उनले थपे ।
सङ्क्रमित गाईभैँसीको दूध खान हुन्छ ?
हालै भारतका केही राज्यमा लम्पी स्किन रोग फैलिएका बेला त्यसबाट सङ्क्रमित गाईभैँसीको दूध नखान भन्दै सामाजिक सञ्जालमा अभियान चलाइएको थियो । तर भारतकै पशु चिकित्सकहरूले त्यसमा कुनै सत्यता नभएको भन्दै खण्डन गरेका थिए ।
पशु सेवा विभागस्थित वरिष्ठ पशु विकास अधिकृत ढकालका अनुसार पनि त्यस्ता गाईभैँसीको दूध सेवन गर्नै नहुने भन्ने हुँदैन । “शरीरभरि घाउ नै घाउ भएको गाईभैँसीको दूध दुहेर खान मन नलाग्नु स्वाभाविक नै हो,” उनले थपे ।
“तर सङ्क्रमित गाईभैँसीको दूध खानु हुँदैन भन्ने कुरा कुनै पनि अनुसन्धान अथवा वैज्ञानिक अध्ययनले भनेको छैन । मज्जाले उमालेर खान सकिन्छ ।”
नियन्त्रणका लागि के गरिँदै छ ?
लम्पी स्किन रोग नियन्त्रणका लागि तीनवटै तहका सरकारहरू समन्वय गरी अगाडि बढिरहेको अधिकारीहरू बताउँछन् । “नमुना सङ्कलन गर्ने, रोग पत्ता लगाउने, उपचार गर्ने र निगरानी गर्ने काम सबै तह मिलेर गरिरहेका छौँ,” ढकाल भन्छन् ।
“घाउ निको पार्न एन्टिबायोटिक औषधि दिने लगायतका ‘जेनरल लाइन अफ ट्रीटमन्ट’को प्रोटोकल बनाएर काम गर्न लगाइएको छ ।” उनका अनुसार नेपालमा गाईबस्तुलाई खोप दिने कार्यक्रममा जोर्डनमा निर्मित खोप प्रयोग हुँदै आएको छ ।




