काठमाडौं । सरकारले काठमाडौं-तराई फास्ट ट्रयाकलाई ४ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने घोषणा गरेको छ । संसदमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वि.सं. २०८३ भित्र फास्ट ट्रयाकको निर्माण कार्य सम्पन्न गर्ने बताएका हुन् ।
उनले पूर्वाधार निर्माण समयमै सम्पन्न गर्न दुई सिफ्टमा काम हुने व्यवस्था मिलाइने बताए । त्यस्तै राष्ट्रिय राजमार्गहरूमा सुरुङ मार्ग, फ्लाई ओभर तथा अन्डर पाससहितको आधुनिक सडक सञ्जाल विस्तार तथा निर्माण कार्यलाई निरन्तरता दिइने सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ ।
त्यस्तै रणनीतिक तथा ब्यापारिक महत्वका सडक खण्डको निर्माण तथा स्तरोन्नति गरिने र त्यस्ता सडक खण्ड पाँच वर्षभित्र सम्पन्न गर्ने सरकारको नीति रहेको राष्ट्रपति पौडेलको भनाइ छ ।
त्यस्तै पूर्व-पश्चिम राजमार्गलाई स्तरोन्ति गर्ने कार्यलाई निरन्तरता दिइने र आगामी वर्ष हुम्ला जिल्ला सदरमुकामलाई राष्ट्रिय सडकसँग जोडिने नीति तथा कार्यक्रममा समेटिएको छ । महाकाली, कर्णाली लगायतका करिडोरको निर्माणलाई समेत सरकारले प्राथमिकतामा राखेको छ ।




