सर्लाही । सर्लाहीको चन्द्रनगर पोलिटेक्निक इन्ष्टिच्यूटका विद्यार्थीहरु आइतबारदेखी आन्दोलित भएका छन् । चन्द्रनगर गाउँपालिका २ स्थित बबरगन्जमा गाउँपालिकाले सञ्चालन गरेको सिटिईभिटी अन्तरगतको चन्द्रनगर पोलिटेक्निक इन्ष्टिच्यूटका विद्यार्थीहरु आन्दोलित भएका हुन् ।
साँझा मागमा गाउँपालिका अध्यक्ष राज कुमार महतोले राजनीति गर्न खोजेपछि आक्रोसित विद्यार्थीहरुले गाउँपालिकाको कार्यालयमा ढुङ्गामुढा प्रहार गरेका छन् । चन्द्रनगर पोलिटेक्निक इन्ष्टिच्यूटमा पुस्तकालयको व्यवस्थापन, प्रयोगशालाको व्यवस्थापन, शिक्षकको व्यवस्थापन र छात्राबासको उचित व्यावस्थापनको माग गर्दै विद्यार्थीहरुले आन्दोलन गरेका हुन् ।
चन्द्रनगर पोलिटेक्निक इन्ष्टिच्यूटमा पुस्तकालयको व्यवस्थापन, प्रयोगशालाको व्यावस्थापन, शिक्षकको व्यवस्थापन र छात्राबासको उचित व्यवस्थापनको विषयमा विद्यार्थीहरुले पटक पटक गाउँपालिका अध्यक्ष राज कुमार महतोलाई जानकारी गराएको भएपनि गाउँपालिका अध्यक्ष महतोले वास्ता नगरेपछि आफुहरुले आन्दोलन गरेको विद्यार्थीहरुले बताएका छन् ।
विद्यार्थीहरुका अनुसार ‘इन्ष्टिच्युटको सञ्चालन तथा व्यवस्थापनमा सुधार ल्याउन पटक पटक गाउँपालिका अध्यक्षलाई भनेको र पटक पटक समय दिएर बसेर छलफल मार्फत समस्या समाधान गर्ने बताएका भएपनि आफुहरुलाई झुक्याउने काम मात्र भएको विद्यार्थीहरु बताएका छन् ।
त्यस्तै आइतबार गाउँपालिका कार्यालयमा गाउँपालिका अध्यक्ष महतोसंग छलफलका लागि आफुहरु जाँदा पालिकाका जनप्रतिनिधिहरुका साथै कर्माचारी पिकनिक खान गएको पाएपछि आन्दोलन सुरु गरेको विद्यार्थीहरुले बताएका छन् ।
गाउँपालिका अध्यक्ष महतोले शक्ति प्रदर्शन गर्दा प्रहरीले आफुहरुमाथी अनावश्यक धरपटक तथा कुटपिट गरेका विद्यार्थीहरुको भनाइ छ । प्रहरीको लाठी चार्जबाट चार÷पाँच जना विद्यार्थीहरु घाइते भएका छन् ।
२०७६ सालमा स्थापना भएको चन्द्रनगर पोलिटेक्निक इन्यिटच्युटमा विगत चार वर्षदेखि शिक्षक तथा प्रधानाध्यापकको नियुक्ति तथा व्यवस्थापन हुन सकेको छैन भने प्रयोगशाला र छात्राबासको समेत उचित व्यवस्थापन भएको छैन ।
डिप्लोमा सिभिल इन्जिनियरिङ र आईटी पढाई हुने चन्द्रनगर पोलिटेक्निक इन्ष्टिच्यूटमा सर्लाही सहित महोतरी, धनुषा, सिरहा, सप्तरी र सुर्खेतका गरी करिब ९० जना विद्यार्थीहरु रहेका छन् ।
उनिहरुबाट प्रति विद्यार्थी रु एक लाख ५० हजारका साथै कतिपयलाई छात्राबास शुल्क र धरौटीको नाममा गरी संकलन भएको रकम गाउँपालिकाले केमा खर्च गरि रहेको छ भन्ने विषयमा विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनभिज्ञ छन् ।
दुर्गा खोभारी माविको प्रयोगशाला, पुस्तकालय, शौचालय र भौतिक संरचना देखाएर विद्यार्थीहरु भर्ना गरिने गरेको भएपनि अहिलेको प्रथम सेमेस्टरमा आईटीमा पाँच जना र डिप्लोमा सिभिल इन्जिनियरिङमा कुनै पनि विद्यार्थीहरु भर्ना नभएका विद्यालय स्रोतले जनाएको छ ।




