काठमाडौं । चालू आर्थिक वर्ष सुरु भएको साढे ४ महिना समय व्यतित भइसक्दा समेत केही स्थानीय तहले वार्षिक बजेट ल्याउन सकेका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्यांक अनुसार सोमबारसम्ममा ९ वटा स्थानीय तहले बजेट ल्याउन नसकेका हुन् ।
देशभरका ७ सय ५३ वटा स्थानीय तहमध्ये ९ वटाले अझैसम्म बजेट पेस गर्न सकेका छैनन् । बजेट पेस गर्न नसक्ने अधिकांश स्थानीय तह मधेस प्रदेशका रहेका छन् ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार गाउँसभा तथा नगरसभामा पेस भएको बजेट असार मसान्तसभित्रमा पारित गरिसक्नु पर्ने भएपनि गाउँसभा तथा नगरसभामा पेस भएको तथा पारित भएको विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा अद्यावधिक गराउनु पर्ने हुन्छ ।
तर, हालसम्म ९ स्थानीय तहले वार्षिक बजेट ल्याएको विवरण मन्त्रालयलाई बुझाएका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार मधेस प्रदेशका ८ वटा र कोशी प्रदेशको एउटा स्थानीय तहले आर्थिक वर्ष २०८०/०८१ को बजेट पेस नगरेका हुन् ।
असार १० गते कार्यपालिकामा बजेट पेस गर्नुपर्ने र असार मसान्तभित्र पारित गरिसक्नु पर्ने प्रावधान छ । तर, मंसिरको दोस्रो हप्ता कटिसक्दा पनि ९ स्थानीय तहले बजेट पेस गरेका छैनन् ।
मन्त्रालयका अनुसार सप्तरीस्थित रुपनी गाउँपालिका, सिराहाको औरही गाउँपालिका, धनुषाको औरही गाउँपालिका, कमला नगरपालिका, सर्लाहीको चन्द्रनगर गाउँपालिका, रौतहटको गढीमाई नगरपालिका, रौतहटकै फतुवा विजयपुर नगरपालिका र कोशी प्रदेशको तेह्रथुम जिल्लाको आठराई गाउँपालिकाले वार्षिक बजेट पेश नगरेका हुन् ।




