काठमाडौं । कर्जा प्रवाहमा शिथिलता आएपछि नेपाल राष्ट्र बैंकले लचक नीति लिएको छ । बैंकले कर्जा प्रवाहलाई सहज हुने गरी मौद्रिक नीतिको समीक्षा गरेको हो ।
राष्ट्र बैंकले शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी बैंक दरलाई ७.५ प्रतिशतबाट घटाई ७ प्रतिशत कायम गेको छ । यस्तै, नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाई ५.५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाई ३.० प्रतिशत कायम गरेको छ ।
यस्तै, बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट (घर जग्गा) कर्जा र रु. ५० लाखभन्दा बढीको शेयर धितो कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गरेको छ । यसले कर्जा प्रवाहलाई बढाउने विश्वास गरिएको छ । यस्तै रु. ५० लाखसम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात बढाई ६० प्रतिशत कायम गरिएको छ ।




