काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हाल ६१ वटा उद्योगको बक्यौता रहेको र ती सबैको लाइन काट्ने बताएका छन् । बिहिबार पत्रकार सम्मेलनमा घिसिङले यस्तो बताएका हुन् ।
वर्षौंदेखि उद्योगीहरूले डेडिकेटेड र ट्रंकलाइनको रकम नतिरेकोमा आफू मौन बस्ने अवस्था नरहेको उनले बताए । घिसिङले दोस्रो विकल्पको रूपमा भनेको पुनरावलोकनमा आउनु पर्ने बताएका छन् । बक्यौताको २५ प्रतिशत रकम जम्मा गरेर आउनेको समस्या समाधान हुने उनले बताए ।
उनले आफू मौन बस्न नमिल्ने भएर यो निर्णयमा पुगेको समेत जानकारी दिए । विद्युत महशुल आयोगले मूल्य निर्धारण गर्नुअघि २०७२ माघदेखि २०७५ वैशाखसम्मको विद्युत प्रयोग स्वभाविक भएपनि २०७५ पछिको र २०७३ माघ अघिको अवस्थामा के गर्ने स्पष्ट निर्देशन कहीबाट नभएको कारण बिल काट्न बाध्य भएको घिसिङले बताएका छन् ।
घिसिङका अनुसार पछिल्लो एक महिनामा ४५ वटा मुद्दामा विद्युत प्राधिकरणको पक्षमा फैसला आएको छ । विगत देखिको यो मुद्दा कसै गरी समधान गर्न नसकेपछि विद्युत काट्न बाध्य भएको उनले बताए ।
पटक पटक बक्यौता बुझाउन अस्वीकार गरेका उद्योगहरूको विद्युत वितरण विनियमावली, २०७८ को विनियम ३१ तथा विद्युत महसुल संकलन विनियमावली, २०७८ को विनियम १० बमोजिम विद्युत आपूर्ति रोकेको प्राधिकरणले बताएको छ ।




