काठमाडौं । गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा विशेष अदालतले तत्कालीन सिनियर डिभिजनल इन्जिनियर काशीप्रसाद गुप्तालाई दोषी ठहर गरेको छ ।
न्यायाधीशत्रय खुसीप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला सुनाएको हो । अदालतले गुप्तालाई नौ महिना कैद हुने जनाएको छ ।
गुप्ता २०३८ सालदेखि ओभरसियरका रूपमा सार्वजनिक सेवामा प्रवेश गरेका थिए । पुस २०७७ सम्मको अवधिमा उनले १६ करोड ७२ लाख रुपैयाँभन्दा बढी गैरकानुनी रूपमा आर्जन गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानले देखाएको थियो ।
यति नै रकम बिगो भराउने तथा दुई करोड १६ लाखभन्दा बढी रकम नै जरिवाना तिराउने फैसला गरेको छ । अख्तियारले २५ भदौ २०७७ मा गुप्तासमेत १३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।




