सलार्ही । सलार्हीका दुग्ध उत्पादक कृषकहरू ‘मिल्क होलिडे’को मारमा परेका छन् । डेरी उद्योगहरूले अघोषित रुपमा दुध खरिद नगरेका कारण दुग्ध उत्पादक कृषकहरु मारमा परेका हुन् ।
दुधको उत्पादन बढेपनि पाउडर दुधको आयातले यहाँका किसानहरु मिल्क होलिडेको मारमा परेका छन् । भारतीय बजारबाट सस्तो मूल्यको पाउडर दुध आयात हुँदा किसान मिल्क होलिडेको समस्यामा परेका हुन् ।
दुध उत्पादन गरेपनि बजार नपाइएको गुनासो गर्दै सलार्हीका एक किसान भन्छन्, ‘सरकारी डेरीले पनि लिइराखेको छैन । सरकारले समेत ध्यान दिन सकेको छैन । दुई पैसा कमाएर घर चलाउँला भन्यो तर हुँदैन, दुध फाल्नु परिरहेको छ ।’
आफूहरुले उत्पादन गरेको दुध डेरीले लिन नमानेपछि आम्दानी गर्न नसकिएको किसानहरुको गुनासो छ । किसानले उत्पादन गरेको दुध नबिकेर मलखादमा फाल्ने अवस्था आउँदा समेत सरोकारवाला निकायले चासो नदिएको दुध उत्पादक किसानको गुनासो छ ।
डेरी उद्योगले दुध खरिद नगरेका मात्रै होइन दुधको रकम पनि भुक्तानी दिएका छैनन् । कृषि उत्पादनको बजार समेत नपाएका किसान मुख्य आम्दानीका रूपमा रहेको दुधको समेत पैसा नपाएपछि चिन्तित बनेका छन् ।
बिहानदेखि रातिसम्म गाईलाई खोलेकुँडो र स्याहार गरी दुध उत्पादन गर्ने किसान डेरी उद्योगले रकम भुक्तानी नगर्दा हातमुख जोर्नै समस्या हुन थालेको बताउँछन् । जिल्लाका हजारौं किसानले बेचेको दुधको मूल्य ३ महिनादेखि पाएका छैनन् ।
डेरीले एक त समयमा पैसा नदिने र बेला बेलामा दुध नै नलिने गरेका कारण आफूहरू मारमा परेको एक दुध किसानले बताइन् । उनले भनिन् ‘दुध बेचेरै बिहान बेलुकाको छाक टार्ने किसानलाई ३ महिनादेखि पैसा नपाउँदा के लाउँ, के खाउँ हुन थालेको छ,’ उनी भन्छिन्, ‘हामीले पटक पटक माग गर्दा पनि दुधको भुक्तानी समेत पाउन सकेका छैनौं ।’
डेरी उद्योगले यसअघि नियमित उत्पादित दुधको मूल्य भुक्तान गरिरहेको भएपनि अहिले लामो समययता किसानले बिक्री गरेको दुधको मूल्य समेत पाउन सकेका छैनन् । किसानलाई दुधको उत्पादन बढाउन सरकारले प्रोत्साहन गरेपनि दुधको बिक्रीका लागि बजार खोज्न भने सहयोग गरेको छैन । किसानको समस्या कसरी समाधान गर्ने भन्नेमा सरकारको चासो नै देखिँदैन ।
नेपाली किसानले उत्पादन गरेको दुध संकलन गरी पाउडर, चीज, बटर, छुर्पी बनाई स्टोर गर्ने क्षमता बढाए मात्रै मिल्क होलिडेको अन्त हुन सक्छ । तर, भण्डारण क्षमताकै अभावमा डेरी उद्योगले दुध खरिद गर्न छाडेका छन् ।
अर्कोतर्फ भारतीय बजारबाट आउने दुध र दुग्ध पदार्थको आयात रोके मात्रै किसानको समस्या समाधान हुन सक्छ । तर, यसतर्फ सरकारको ध्यान पुगेको देखिँदैन । यस्तै लम्पी स्किन जस्ता रोगका कारण लाखौंको पशुधन गुमाउने किसानहरुको समस्यालाई दिर्घकालिन रुपमा समाधान गर्न राज्यका तीनै तहका सरकारको ध्यान गएको देखिदैन ।




