काठमाडौं । आगामी माघ २७ गते हुने नेपाल हिमालय सीमापार वाणिज्य संघको १२ औं महाधिवेशनमा युवा व्यावसायी लोप्साङ शेर्पाले अध्यक्षमा उम्मेदवारी दिएका छन् । उनले आफूले संस्थालाई नयाँ तरिकाले अगाडी लाने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
नेपाल चीनबीचको व्यापारलाई कसरी भविष्यमा थप उचाइमा लाने भन्ने बारे आफूसँग स्पष्ट खाका र कार्य योजना रहेको उनको दावी छ । अध्यक्षका प्रत्यासी शेर्पाले अहिले यो संस्थालाई केहि सिमित व्यक्तिहहरुले खल्तीको संस्थाको रुपमा चिनाएको भन्दै आफूले यस्तो धारणालाई तोडेर सबै व्यावसायीहरुको हकहित र संस्थाको लागि काम गर्ने बताए ।
उनले अहिले चीनसँगको व्यापारमा देखा परेका समस्याहरुको सबैसँग समन्वय र सहकार्य गरेर कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा आफ्नो जोड रहने बताए । आफू चीनको विश्वविद्यालयमा अध्ययन गरेको र चीनको पछिल्लो व्यापारिक प्रणाली बारे धेरै जानकार रहेको उनले बताए ।
उनले संस्थाको हितलाई नै सर्वोपरिमा राखेर काम गर्नुपर्नेमा अहिलेसम्मको नेतृत्वले त्यसरी काम गरेर परिणाम देखाउन नसकेको टिप्पणी गरे । उनले सप्टवेयरलाई अपडेट गरे जस्तै संस्थामा पनि नयाँ विचार, सोच, भिजन र कार्यदिशा आवश्यक रहेको र त्यो कुरा आफूसँग भएको बताए ।
नमस्ते लजिस्टिकका अध्यक्ष समेत रहेका शेर्पा चिनियाँ भाषविद्को रुपमा परिचित छन् । उनले भाषा समस्याका कारण नाकामा देखा परेको समस्यालाई आफूले धेरै पटक समाधान गरेको दावी समेत गरेका छन् । “मैले वि.सं. ०६४ मै तातोपानी नाकामा नेपालतर्फको चिनियाँ भाषा अनुवादकको रुपमा काम गनै थालेको हुँ”, उनी बताउँछन् ।
उनले यस संस्थामा सचिवका रुपमा काम गरिसकेका छन् । उनी अहिलेको कार्यसमितिमा सल्लाहकार सदस्य पदमा कार्यरत छन् । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका १ का स्थायी बासिन्दा शेर्पा स्थानीय विकासको काममा समेत अग्रसर रहने गरेका छन् ।




