काठमाडौं । होटल सोल्टीस्थित क्यासिनो माजोङले भारतको आर्थिक राजधानी मुम्बईमा प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ । शुक्रबार मुम्बईमा आयोजित ‘हस्पिटालिटी अवार्ड फंक्सन’मा उक्त क्यासिनोले ‘आउटस्ट्यान्डिङ कन्ट्रिब्युटर टु टुरिजम डेभेलपमेन्ट इन नेपाल’ अवार्ड प्राप्त गरेको हो ।
मुम्बईको पोवई सेन्ट्रल एभिन्यू, हीरामण्डी गार्डेनस्थित ‘मेलुहा द फर्न स् इकोटेल होटल’मा शुक्रबार साँझ आयोजित समारोहमा भारतको केन्द्र सरकारका सामाजिक न्याय तथा सशक्तीकरण राज्यमन्त्री रामदास अठावाले, मुम्बईका लोकसभा सांसद अरविन्द गणपत सावन्त र बेलायतको लन्डन बोरो अफ साउथवाकका मेयर सुनिल चोपडाले क्यासिनो माजोङका अध्यक्ष तथा प्रबन्ध निर्देशक विनोद श्रेष्ठको नाममा अवार्ड हस्तान्तरण गरेको हो ।

उक्त अवार्डको आयोजक ‘हस्पिटालिटी इन्डिया’ हो । र, बर्सेनि उक्त अवार्ड वितरण गर्दै आएको छ । यस पटकको अवार्ड सातौं संस्करण हो । छत्तीसगढ पर्यटन बोर्ड पनि उक्त अवार्ड फंक्सनको प्रान्तीय पार्टनर हो । यस्तै होटल ‘मेलुहा द फर्न’ अवार्ड कार्यक्रमको हस्पिटालिटी पार्टनर हो ।
सोही समारोहमा ‘हस्पिटालिटी इन्डिया कफी टेबल बुक’ नामक म्यागेजिनको आठौं संस्करणको कभर पेज पनि सार्वजनिक गरिएको थियो । उक्त म्यागेजिनमा क्यासिनो माजोङका अध्यक्ष तथा प्रबन्ध निर्देशक श्रेष्ठको अन्तरवार्ता पनि समावेश छ । श्रेष्ठ विगत २५ वर्षदेखि पर्यटन व्यवसायमा आवद्ध छन् ।
क्यासिनो, होटल, रिसोर्ट, ट्राभल लगायत व्यवसायमा उनको लगानी छ । भारतको नयाँदिल्लीमा आयोजित हस्पिटालिट अवार्ड कार्यक्रममा यसअघि सन् २०२३, २०२२ र २०१९ मा ‘बेस्ट क्यासिनो इन साउथ एसिया’ र सन् २०१८ मा ‘बेस्ट क्यासिनो इन नेपाल’ अवार्डबाट क्यासिनो माजोङ सम्मानित भइसकेका छन् ।




