सर्लाही । सर्लाहीको हरिपूर्वा नगरपालिकाको ११ औं नगरसभामा वार्षिक नीति कार्यक्रम तथा बजेट प्रस्तुति कार्यक्रममा जनप्रतिनिधिहरूबीच हात हालाहाल भएपछि अवस्था तनावग्रस्त भएको छ ।
नगरप्रमुख विनोद साहले एकलौटीरूपमा नगरसभा गर्न खोजेको भन्दै जनप्रतिनिधिबीच विवाद भएको हो । विवादपछि हरिपूर्वा नगरपालिका अगाडि ठूलो संख्यामा जनपद र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।
नगरप्रमुख साहले हरिपूर्वाको विकास देख्न नचाहने केहि जनप्रतिनिधिले विवाद गराएको आरोप लगाए । विगत ८ महिनादेखि हरिपूर्वामा नगरसभा हुन सकेको छैन ।
चालू आवको शुरूदेखि नै हरिपूर्वा नपामा जनप्रतिनिधिहरूबीच आपसी सहमति नहुँदा नगरसभा प्रभावित भइरहेको छ । नगरसभा नहुँदा नपाको विकास निर्माण, सामाजिक सुरक्षा भत्ता, कर्मचारीलाई तलब, स्वास्थ्य चौकीमा औषधि, कृषि, सिंचाइ लगायत कामहरू प्रभावित भएका छन् ।
विगत १० महिनामा नौ जना प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएका कारण विवाद हुँदै आएको छ । लामो समयदेखि कर्मचारीहरूको तलब रोकिएपछि माघ २८ गतेदेखि कर्मचारीहरू सम्पूर्ण कार्यालय बन्द गरेर धर्नामा बसेर नगरसभा गराउन दबाब सिर्जना गरेका थिए ।




