बारा । रौतहटको ईशनाथ नगरपालिकाबाट सुरू भएको विवादले पर्सा, महोत्तरी समेत प्रभावित भएपछि बारा जिल्लामा बुधबार सद्भाव र्याली निकालिएको छ । जिल्ला प्रशासन कार्यालय, बाराको अगुवाइमा सोही कार्यालयबाट बिहान धार्मिक, सामाजिक सद्भाव र्याली निकालिएको थियो ।
र्याली बजार क्षेत्र परिक्रमा गरेर सामाजिक सद्भाव कायम राख्न आह्वान गरिएको थियो । सामाजिक एकता र सद्भाव कायम रहेको सन्देश दिन निकालिएको र्यालीमा विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधि, धार्मिक तथा सामाजिक सङ्घ संस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारी, शिक्षक, खेलाडी, स्थानीय लगायतको सहभागिता रहेको थियो ।
यसअघि मंगलबार स्थानीय प्रशासन र राजनीतिक दलबीच सामाजिक सद्भाव बिग्रन नदिनका लागि छलफल भएको थियो । उक्त छलफलमा सामाजिक तथा धार्मिक एकता कायम राख्न प्रतिबद्धता जनाएका १२ वटा राजनीतिक दलले संयुक्त अपील समेत जारी गरेका थिए ।
यस्तै ब्रह्माकुमारी उपसेवा केन्द्र जीतपुर र प्राप्तिका लागि प्रेरणा समूह नेपालको संयुक्त आयोजनामा जीतपुर बजारमा पनि धार्मिक तथा सामाजिक सहिष्णुताको लागि सर्वपक्षीय सद्भाव र्याली निकालिएको छ ।
जीतपुर बजारबाट निस्किएको सद्भाव र्यालीमा विभिन्न जातजातिको सहभागिता थियो । र्याली जीतपुरका विभिन्न टोलको परिक्रमा गरी मुख्य सडकमा पुगेर कोणसभामा परिणत भएको थियो ।




