रौतहट । गुजरा नगरपालिका भित्र फागुन १३ गतेदेखि १७ गतेसम्म ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई दादुरा, रुबेलाविरुद्धको खोप लगाइने भएको छ ।
गुजरा नगरपालिकाको सभाहलमा आयोजित नगर स्तरीय खोप समन्वय समिति एवम् संचारकर्मीलाई अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य शाखाका संयोजक विजयबावु चौधरीले नगरका ९ वटै वडामा फागुन १३ देखि १७ गतेसम्म दादुरा, रुबेलाविरुद्धको खोप कार्यक्रम चल्ने जानकारी दिए ।
उनले गुजरामा १७ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको बताए । उनले कक्षा १ देखि कक्षा १० सम्म पढ्ने १५ वर्ष मुनिका विद्यार्थीलाई खोप लगाइने जनाए । स्वास्थ्य संयोजक चौधरीका अनुसार १७ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य भएपनि खोप पर्याप्त रहेकोले जति बालबालिका रहेपनि सबैलाई खोप लगाईने छ ।
चौधरीका अनुसार स्वास्थ्यकर्मीले प्रत्येक विद्यालयमा पुगेर र खोप केन्द्रमा बसेर ९ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकालाई खोप लगाउने छन् । खोप कार्यक्रम बारे स्वास्थ्य शाखा प्रमुख चौधरी र रंगपुर स्वास्थ्य चौकीका प्रमुख सैफुल्लाह देवानले प्रष्ट पारेका छन् ।
अन्तक्रिया कार्यक्रममा मन्तव्य राख्दै मा.वी. मैढाका प्राधानाध्यापक राम अयोध्या चौधरी लगायतले सबै मिलेर खोप कार्यक्रम सफल पार्नुपर्ने बताए । अभिमुखीकरणमा विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, शिक्षक,स्वास्थ्य शाखाका कर्मचारी, स्वास्थ्य चौकीका कर्मचारी तथा आधारभूत स्वास्थ्य केन्द्रका इन्चार्ज, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।




